सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेका दिन आगजनी, लुटपाट तथा चोरीबाट क्षति भएको सम्पत्तिको अध्ययन गर्न आज सुर्खेत आइपुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटका क्रममा मुख्यमन्त्री कँडेल निष्पक्ष छानबिन तथा अध्ययन गर्न आग्रह गरेका हुन् । उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिए ।
मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक तथा जनआन्दोलन जे भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाटजस्ता घटना नभएको स्मरण गराए ।
अपराधजन्य कार्यमा संलग्न जोकोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा उनको जोड थियो । जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य तथा निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याएमात्र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनका अनुसार छानबिन सत्यतथ्य हुन नसके आपराधिक तत्वले प्रश्रय पाउँछ ।

प्रतिक्रिया