चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ

नेपालखोज २०८२ कार्तिक १२ गते २१:४६

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ तथा काभ्रे पनौती नगरपालिका-१० खोपासी घर भई काठमाडौं महानगरपालिका-१६ एलेक्स नेपाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोडेल ५४ कल ७.६२-२५ एमएम ५०००००९८ पोलि टेक्नोलोजीज इंक चीन लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान तथा ३११-२३ लेखिएको गोली १२ राउण्ड बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निजहरु दुबै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए ।

प्रतिक्रिया