बुधबार, पुष ९, २०८२

ट्रम्पको आणविक परीक्षण टिप्पणीले दशकौँ पुरानो अमेरिकी नीति पुन : चर्चामा

नेपालखोज २०८२ कार्तिक १३ गते १५:३५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण पुनः सुरु गर्ने सङ्केत दिएपछि दशकौँदेखि थन्किएको अमेरिकी नीति पुनः विवादमा आएको छ ।

उनको भनाइले वासिङ्टनका प्रतिद्वन्द्वीहरू-रुस, चीन र उत्तर कोरियाजस्ता देशहरूले निरन्तर हतियार विस्तार गरिरहेका बेला नयाँ आणविक प्रतिस्पर्धाको डर जगाएको छ ।

शीतयुद्धकालको अवशेष मानिएको आणविक नीति अहिले पुनः चर्चामा आएको छ । रुसले युक्रेन युद्धबीच अमेरिकासहित युरोपलाई बारम्बार आणविक धम्की दिँदै आएको छ र यसै साताको सुरुआतमा ‘बुरेभेस्टनिक’ नामक आणविक–सक्षम क्रुज मिसाइल परीक्षण गरेको स्वीकार गरेको छ ।

चीनले भूमिगत साइलोहरू विस्तार गरिरहेको छ भने उत्तर कोरियाले अमेरिकी भूमिसम्म प्रहार गर्नसक्ने क्षमताको नयाँ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको छ ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुअघि आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै अन्य मुलुकले हतियार परीक्षण गरिरहेको उल्लेख गर्दै अमेरिकी रक्षा मन्त्रालयलाई ‘समान आधारमा परीक्षण सुरु गर्न निर्देशन दिएको’ बताउनुभएको थियो । तर अमेरिकी आणविक शस्त्रागार ऊर्जा विभाग र राष्ट्रिय आणविक सुरक्षा प्रशासनको मातहतमा रहेकोले यसले कानूनी र संरचनात्मक प्रश्नहरू खडा गरेको छ ।

ट्रम्पले ‘अमेरिकासँग सबैभन्दा धेरै आणविक हतियार छन्’ भनी दाबी गरे पनि आम्र्स कन्ट्रोल एसोसिएसनका अनुसार रुससँग करिब पाँच हजार ५८० र अमेरिकासँग पाँच हजार २२५ आणविक हतियार छन् । यी दुई देशसँग विश्वको करिब ९० प्रतिशत आणविक शस्त्रागार छ । अमेरिकाले अन्तिम पटक सन् १९९२ मा आणविक परीक्षण गरेको थियो ।

सन् १९४५ देखि १९९२ सम्म अमेरिकाले कुल एक हजार ३० परीक्षणहरू गर्‍यो । यो विश्वकै सबैभन्दा धेरै परीक्षण हो । ती परीक्षणमा हिरोसिमा र नागासाकीमा प्रयोग गरिएका बमहरू समावेश छैनन् । प्रारम्भिक परीक्षणहरू वायुमण्डलीय थिए, तर पछि भूमिगत सारिए । अन्तिम परीक्षण ‘अपरेसन जुलिन’ अन्तर्गत ‘डिभाइडर’ नामले सन् १९९२ सेप्टेम्बर २३ मा नेभाडामा गरिएको थियो ।

प्रतिक्रिया