स्टेच्यू अफ लिवर्टीको स्थापना दिवस

सुनिल उलक २०८२ कार्तिक १४ गते ६:११

आज २८ अक्टोबर, आजको १३९ वर्ष अगाडि सन १८८६ मा अमेरिकी सहर न्यूयोर्कको बेडलोज टापु (Bedloe’s Island) मा फ्रान्सेली जनताको तर्फबाट उपहारमा प्राप्त गरिएको स्वतन्त्रताको देवी लिवर्टासको भव्य मूर्ति स्थापित गरिएको थियो । उद्घाटनको दिन अचानक मौसम बिग्रँदा त्यस दिन खुसीयालीमा गरिने आतिशवाजी १ नवम्वर सम्मका लागि स्थगित गरिएको थियो । यस कार्यक्रममा अमेरिकी राष्ट्रपति ग्रोभर क्लेभल्याण्डको उपस्थिति थियो । क्लोभल्याण्ड अमेरिकाको बाइसौँ र चौबिस गरी दुई पटक राष्ट्रपति भएका थिए ।

फ्रांसिली वास्तुकार यूजेन इमानुएल विओले ले दुक तथा एलेक्जेंडर गुस्तोव एफिल दुई जनाको संयुक्त मेहनतले तैयार गरिएको थियो । यो मुर्ति स्थापना भएको एक वर्ष पछि एलेक्जेंडर गुस्तोव एफिलले एफिल टावरको पनि डिजाइन गरेका थिए । उनकै नाममा यो टावर फ्रान्सको पेरिस शहरमा खडा छ । मुर्ति राख्नका लागि बनाइएको आधार स्तम्भको डिजाइन अमेरिकी वास्तुकार रिचार्ड मोरिस हन्टले गरेका थिए ।

बेडलोज टापु कुनै बेला इसाक बेडलोको निजी सम्पती थियो । त्यसैले यो टापुको नाम नै बेडलोको टापु (Bedloe’s Island) रहन गएको थियो । यही टापुमा फ्रान्सेली उपहारको मूर्ति स्थापना गरिएको धेरैपछि सन १९५६ मा यो टापुको नाम लिवर्टी आइलैण्ड राखिएको थियो । रोमन स्वतन्त्रताको देवी लिवर्टासले एक हातमा मशाल बोकेकी छिन भने अर्को हातले किताब च्यापेकी छन् । उनले बोकेको कितावमा रोमनमा ६ जुलाई १७७६ लेखिएको छ ।

जुन मिति अमेरिकी राज्य गठन भएको मिति हो । यस मूर्तिमा तामाको परत चढ़ाईएको छ । यस मुर्ति तैयार बनाउन ९ वर्ष भन्दा बढी समय लागेको थियो । सम्पूर्ण रुपमा मुर्ति फ्रान्समा तैयार गरिए पछि पानीजहाजबाट यस टापुमा ल्याई पून जोडिएको थियो । यस मुर्तिको उचाइ ४६ मीटर तथा आधार स्तम्भ सहित ९३ मीटर रहेको छ । यस मुर्तिको सम्पूर्ण वजन २०४ टन रहेको छ । जसमा तामा २७.२२ टन तथा स्टील ११३.४ टन रहेको छ । यस मुर्ति भित्र ३५९ सिढी तथा २५ वटा झ्याल रहेको छ ।

यस मुर्तिमा बोकिरहेको मशालको उचाइ ८.८ मीटर रहेको छ । स्थापनाकाल देखि सन १९१६ सम्म मानिसहरुलाइ यस मशालसम्म पुग्ने सुविधा दिइएको थियो । जसका लागि हात भित्र १२.८ मीटर लामो सिँढी बनाइएको थियो । सन १९१६ मा बेडलो टापू नजिकै रहेको ब्लाक टम टापुमा भयानक बिस्फोट गराइँदा मुर्तिमा कमजोरी आएपछि चढ्न रोक लगाइएको थियो । तर मुर्तिको शिरमा रहेको ताजका झ्यालसम्म भने चढ्न दिइन्छ ।

मुर्तिमा रहेको मशाल सन १९८६ मा मुर्ति स्थापनाको सय वर्ष पुरा भएको उत्सव मनाउनु अगाडि मर्मत कार्य गरिँदा नयाँ फेरिएको थियो । साथै यसमा बले जस्तो देखिने मशाल पहिले शिशा भित्र राखिएका बिजुलीका बत्तीहरुबाट बनाइएको थियो भने सन १९८६ मा मर्मत गर्ने समय सुनको परतमा १६ वटा बिशाल एलइडी फ्लडलाइटको प्रकाशबाट राती बलेको जस्तो देखाइन्छ । यस Statue of Liberty मा दैनिक २०००० भन्दा बढी पर्यटक भ्रमणको लागि आउने गर्दछन् । यो संख्या वार्षिक बढीमा ४५ लाख सम्म पुग्ने गर्दछ । सन २०२० मा कोविडको मारामारीले गर्दा ६ लाख पर्यटक पनि पुगेनन् । सन २०२३ मा यहाँ पुगेका पर्यटकहरुले २५ करोड डलर खर्चेका थिए । यहाँ जम्मा ८८ स्थाइ कर्मचारी र ८० सुरक्षाकर्मीले नै सम्पूर्ण ब्यबस्थापन गर्ने गर्दछ ।

तस्बिरमा देखिएको Statue of Liberty को शिर मात्रै हो । अमेरिकामा लैजानु अगाडि फ्रान्सको पेरिसमा प्रदर्शनको लागि राखिएको देख्न सकिन्छ । यस शिरमा लिवर्टासको नाक ४.५ फुटको छ । दुई आँखा बिचको दुरी २.५ फुट छ । कान देखि कान सम्मको मोटाई १० फुटको छ । मुखको चौडाइ ३ फुटको छ । चिउँडो देखि तालुसम्मको लम्बाई १७ फुट ३ इन्च रहेको छ ।
लिवर्टासको शिरमा रहेको ताजमा रहेको सात वटा चुच्चाले विश्वमा रहेको सात समुन्द्र तथा सात महादेशको प्रतिनिधित्व गर्दछ । सो स्टेच्यूमा रहेको लिवर्टासको अनुहार त्यो समयको यूरोप सुन्दरी इसाबेला यूजिनी बोयरको रहेको थियो । तर केही अंश भने मुर्तिकार फ्रेडरिक अगष्टे बार्थोल्डीले आफ्नो आमा चार्लोट बार्थोल्डीको पनि राखेका थिए ।

प्रतिक्रिया