मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

नेपालखोज २०८२ कार्तिक १४ गते २०:२५

मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू सम्पर्कविहीन भएको सूचना बिहीबार साँझ प्राप्त भएको बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ-मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्दछ । त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताए ।

हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएक सबै दुई साताअघि काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिए । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पदप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उनको भनाइ छ ।

आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताए । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गरे ।

हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन, व्यवस्थापक मैनालीले भने, हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ ।

सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उनले उल्लेख गरे । सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योेजनामा रहेका व्यवस्थापक मैनालीले बतारे ।

प्रतिक्रिया