निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समयसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गरेकाे उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारका तर्फबाट अधिकत्तम प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको तथा यसबीचमा जेनजी, राजनीतिक दलबीचमा छलफल भएको समेत सो अवसरमा जानकारी दिएकी थिइन् ।
सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
सुशासन कायम गर्ने र निर्वाचन गराउने सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर फागनु २१ को निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने बताइन् ।

प्रतिक्रिया