बुधबार, पुष ९, २०८२

अन्वेषकहरूको अन्टार्कटिकातर्फ यात्रा : एक लाख ३० हजार पुरानो बरफको खोज

नेपालखोज २०८२ कार्तिक १५ गते १५:४८

केप टाउन । फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गरेका छन् ।

चङ्गा स्कीसको सहायतामा पृथ्वीको सबैभन्दा चिसो र कठोर भूभाग पार गर्दै उनीहरूले ‘सेतो महाद्वीप’ को इतिहास र भविष्य जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्ने लक्ष्य राखेका छन् ।

दक्षिणी गोलार्धको गर्मी सिजन सुरु भएसँगै सुरू भएको यो ‘अन्डर अन्टार्कटिका’ अभियान आगामी नोभेम्बर १० देखि ब्राजिलमा हुने कोप–३० जलवायु सम्मेलन सँग मेल खाने गरी तय गरिएको छ । दुवै वैज्ञानिकको उद्देश्य जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी कदमलाई सशक्त बनाउन र पग्लँदै गएको बरफको प्रभावबारे ठोस प्रमाण प्रस्तुत गर्नु हो ।

– चरम यात्राको चुनौती –

टोर्डुर र सेभेस्ट्रेले पूर्ण अलगावमा रहँदै करिब चार हजार किलोमिटर लामो बाटो पार गर्ने योजना बनाएका छन् । यस अवधिमा तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दुवै जना चङ्गा स्कीसको सहायतामा यात्रा गर्नेछन् । यसमा स्कियरले शरीरमा बाँधिएको हार्नेसमार्फत चङ्गाको बल प्रयोग गरी अगाडि बढ्छन् ।

यदि हावाको अवस्था अनुकूल रह्यो भने हामी दैनिक १५० देखि २०० किलोमिटर यात्रा गर्न सक्छौँ, टोर्डुरले भने । गत वर्ष उनीहरूले ग्रीनल्यान्डमा चङ्गा स्कीस प्रयोग गरी एक हजार ५०० किलोमिटर यात्रा गर्दै बरफका नमूना सङ्कलन गरेका थिए । यस पटक ९० दिनभित्र अभियान पूरा गर्ने योजना रहेको छ ।

हामीले जनवरीको अन्त्यअघि अन्टार्कटिकाबाट बाहिरिनै पर्छ, ३३ वर्षीय टोर्डुरले भने, त्यसपछि कुनै विमान वा रसद सहायता सम्भव हुँदैन ।

– चरम सीमाको महाद्वीप –

टोर्डुरका अनुसार अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो, सुक्खा, हावायुक्त र सबैभन्दा उचाइमा रहेको महाद्वीप हो । उहाँहरूले करिब तीन हजार ८०० मिटर उचाइमा यात्रा गर्नेछन् । त्यहाँ कुनै मानव बस्ती वा जनावर भेटिँदैन । जब तपाईं महाद्वीपभित्र पस्नुहुन्छ, त्यहाँ केही पनि हुँदैन—मात्र सेतो बरफको अनन्त फैलावट, उनले भने ।

प्रत्येक अन्वेषकले आफ्नो स्लेजमा खानादेखि उपकरणसम्म सबै वस्तु बोकेका छन् । त्यसमा दुईवटा जमिनमा प्रवेश गर्ने राडार समेत छन्, जसले बरफको गहिराइ र तह स्क्यान गर्नेछ । खाना योजनासमेत अति सूक्ष्म रूपमा तयार गरिएको छ—उदाहरणका लागि बिहानको भोजनमा ७० ग्राम ओट्स, ३० ग्राम मुसेली र १४ ग्राम किसमिस समावेश हुन्छ ।

– वेस्ट अन्टार्कटिकाको पतन सम्भव छ –

हिमनदी विज्ञ सेभेस्ट्रेका अनुसार अभियानको प्रमुख लक्ष्य दुईदेखि तीन किलोमिटर गहिराइमा रहेको अत्यन्त पुरानो बरफ पत्ता लगाउनु हो । हामी एक लाख ३० हजार वर्ष पुरानो बरफ खोज्दैछौँ—त्यो समय पृथ्वी अहिलेको भन्दा करिब तीन डिग्री बढी तातो थियो, उनले भने ।

यदि त्यस्तो पुरानो बरफ फेला परेन भने सेभेस्ट्रेका शब्दमा, यसको अर्थ हुन्छ, तापक्रम तीन डिग्री बढ्दा अन्टार्कटिकाको केही भाग पतन भइसकेको थियो । यस अध्ययनले भविष्यमा समुद्री सतह कति बढ्न सक्छ भन्ने वैज्ञानिक मोडेललाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

पश्चिम अन्टार्कटिकामा यति धेरै बरफ छ कि पग्लिएमा विश्व समुद्री सतह चारदेखि छ मिटरसम्म बढ्न सक्छ, ३७ वर्षीया सेभेस्ट्रेले भने, त्यस्तो अवस्था आउँदा विश्वभरका लाखौँ मानिस विस्थापित हुनेछन् ।

– जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्य –

युनेस्कोको समर्थनमा सञ्चालित यस अभियानको सन्देश नोभेम्बर २१ भित्र ब्राजिलमा भेला हुने विश्व नेताहरूमा पुगोस् भन्ने दुवैको अपेक्षा छ । जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामबाट बच्न अझै ढिलो भएको छैन, सेभेस्ट्रेले भने ।

उनका अनुसार समाधान स्पष्ट छ, हामीले कार्बन उत्सर्जन घटाउनुपर्छ र जीवाश्म इन्धन प्रयोग कम गर्नुपर्छ । बरफका यी पिण्डहरूलाई जोगाउन यही नै मार्ग हो ।

यो अभियान केवल एक वैज्ञानिक अनुसन्धान मात्र नभई, विश्वलाई चेतावनी पनि हो—पृथ्वीको इतिहास पढ्न सक्ने बरफ पग्लिँदै छ र त्यससँगै मानव भविष्य पनि जोखिममा पर्न सक्छ ।

प्रतिक्रिया