विदेशी कम्पनीलाई बन्दरगाह दिने योजनाविरुद्ध बङ्गलादेशमा डक कामदारहरूको हडताल

ढाका । बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोधस्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् ।
अन्तरिम सरकारले बन्दरगाह सञ्चालनको इजाजतपत्र विदेशी कम्पनीलाई भाडामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि श्रमिकहरू सडकमा उत्रिएका हुन् ।
अक्टोबरमा थोरै सङ्ख्याबाट सुरु भएको वाकआउट अहिले करिब २०० जना डक कामदारमा विस्तार भइसकेको छ । यो बन्दरगाह बङ्गलादेशको मुख्य व्यापारिक प्रवेशद्वार र विश्वव्यापी गार्मेन्ट आपूर्ति शृङ्खलाको अत्यन्त महत्त्वपूर्ण केन्द्र हो ।
चट्टोग्राम पोर्ट अथोरिटीका अध्यक्ष एस.एम. मोनिरुज्जमानका अनुसार विदेशी विशेषज्ञ अपरेटरहरूले लगानी बढाउने र बन्दरगाह सञ्चालनको दक्षता सुधार गर्नेछन् ।
विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेश आफ्नो अधिकांश आयात–निर्यातका लागि यही बन्दरगाहमा निर्भर रहेको छ । यसलाई पहिले ‘चटगाँव’ नामले चिनिन्थ्यो र यो रणनीतिक रूपमा बङ्गालको खाडीको किनारमा अवस्थित छ ।
संयुक्त अरब इमिरेट्स (युएइ) आधारित ‘डिपी वल्र्ड’ कम्पनीले बन्दरगाहको नयाँ मुरिङ कन्टेनर टर्मिनल सञ्चालन गर्न चासो देखाएको छ भने डेनिस शिपिङ कम्पनी ‘ए.पी. मोलर–मार्सक’ ले सहर बाहिर रहेको लाल्डिया कन्टेनर टर्मिनलमा रुचि जनाएको बङ्गलादेशको सरकारी समाचार एजेन्सी बिएसएसले जनाएको छ ।
जहाजरानी मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद युसुफका अनुसार अन्तरिम प्रशासनसँग डिसेम्बरसम्ममा सम्झौताहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
गत वर्ष अगस्ट २०२४ मा व्यापक जनआन्दोलनपछि शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम प्रशासन आगामी फेब्रुअरीमा हुने निर्वाचनपछि प्रतिस्थापित हुनेछ ।
तर बन्दरगाहको यो कदमले श्रमिकहरूमा अनिश्चितता र आक्रोश दुवै उत्पन्न गरेको छ । हड्तालमा सहभागी ५५ वर्षीय डक कामदार नुर उद्दीनले भने, नयाँ प्राधिकरणले हामीलाई काममा राख्ने हो कि पूरै प्रणाली फेरिने हो, केही थाहा छैन ।
अर्का कामदार ५६ वर्षीय इलियास भुइयाँले प्रश्न गरे, उनीहरू अन्तरिम सरकार हुन्, के उनीहरूसँग यस्ता ठूला निर्णय गर्न जनादेश छ ?
तर समर्थनकर्ताहरूको भनाइ फरक छ । बङ्गलादेश फ्रेट फरवार्डर्स एसोसिएसन (बाफा) का अध्यक्ष कबीर अहमदले भने, बन्दरगाहको क्षमता विस्तारका लागि विश्वस्तरीय अपरेटर आवश्यक छन् । यसले कार्गो ह्यान्डलिङ, राजस्व र देशको प्रतिष्ठा तीनैलाई मजबुत बनाउनेछ ।
अहिले चट्टोग्राम बन्दरगाहमा मालसामान ढुवानी र लोडिङ–अनलोडिङ कार्य ठप्प छ । यसले देशको व्यापारिक गतिविधिमा व्यापक असर पार्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया