हरिबोधनी एकादशी: भगवान विष्णुको जागरण र तुलसी–शालीग्राम विवाहको पावन पर्व

आज हरिबोधनी एकादशी जनमानसमा ठूलो एकादशीको नामले चिनिने यस दिन संगै हिन्दुहरूको महान उत्सवमय दशै तिहारको उल्लासको समाप्ति हुन्छ । यसै दिनबाट कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशदीप पनि बाल्न बन्द गरिन्छ ।
एक वर्षमा पर्न जाने २४ एकादशी (अधिक मासको समय २६ एकादशी) मध्ये यो एकादशीलाई विशेष लिने हुँदा यस एकादशीलाई ठूलो एकादशी भनिएको हो । चार महिना लामो शयन पछि आजकै दिन भगवान विष्णु जागरण भइ बैकुण्ठ वासमा जानुहुन्छ ।
साथै यसै दिन चतुर्मासको समाप्ति हुने हुँदा वैष्णव धर्मावलम्बी तथा हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वका रुपमा मनाउने गर्दछन् । आजैको दिन आँगनमा रोपिएको तुलसीको विवाह विष्णुका प्रतिकका रुपमा राखिएको शालीग्रामसंग गराइन्छ । यसको अलग्गै कथा छ ।
विष्णुको छलका कारण आफ्नो पति जालन्धरको मृत्यु भएपछि पतिव्रता बृन्दाको श्रापले भगवान विष्णु शालीग्राम भएका थिए । यस्तै जालन्धरको मृत्यु पछि सती गएका पतिव्रता बृन्दा जलाइए पछि उनैको पूनर्जीवनका रुपमा सो जमिनमा तुलसी उम्रिएको थियो । आज यिनै भगवान विष्णुको रुपमा रहेको शालीग्राम र बृन्दाका रुपमा रहेको तुलसीको विवाह गराइन्छ । आज तुलसी र शालीग्रामको विवाह गरे पछि आजकै दिनबाट विवाह तथा सबै मांगलिक कार्य गर्न सकिन्छ ।
आजैको दिनबाट पूर्णिमा सम्मको दिनलाई भिष्मपञ्चक भनिन्छ । यो अवधिभर काठमाडौका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) मा मेला लाग्ने गर्दछ ।
पोखराको कोठेसांघु (हालको महेन्द्रपुल) मा पनि पहिले पहिले ठूलो मेला लाग्ने गर्दथ्यो । गाउँ घरबाट आउने ब्रतालुहरुले निकै ठूलो बजार लाग्ने गर्थ्यो । यहाँ राखिएका केही तस्विर आज भन्दा ६० वर्ष अगाडी हालको महेन्दपुलमा लागेको मेलाको हो । बाजागाजा सहित ल्याइएको तोरणलाई सेतीको वारपार टाङ्ने गरिन्थ्यो । र दिनभर बजार लाग्ने गर्दथ्यो ।

प्रतिक्रिया