डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

नेपालखोज २०८२ कार्तिक १७ गते ७:४१

गलकोट (बागलुङ) । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् ।

उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताए । याे अस्पतालले हाल ६० जना मिर्गाैला पीडितलाई नियमित डाइलाइसिस सेवा दिइरहेको छ ।

‘मिर्गौला रोगीको सङ्ख्या बढिरहेको छ, उपचार गर्ने उपकरण र जनशक्ति सीमित छ, पोखरामा डायलाइसिस गरिरहेको थिएँ, अहिले जिल्लाकै अस्पतालबाट सेवा पाएको छु, सेवाका कारण खर्च र समय दुबै बचेको छ, घरबाटै आउन जान सकिन्छ,’ उनले भने, ‘अस्पतालले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवाले राहत मिलेको छ ।’

अस्पताल भवन र आवश्यक उपकरण थप भएमा अझै धेरै बिरामीको उपचार गर्न सकिने अस्पतालको भनाइ छ । पछिल्लो समय धौलागिरी प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको सङ्ख्या बढ्न थालेको अस्पतालले जनाएको छ । एक वर्ष अघिसम्म डायलाइसिसको लागि पालो कुर्नुपर्ने बिरामी शून्य रहेपनि अहिले धेरै बिरामी डायलाइसिस गराउन नाम टिपाउने गरेका छन् ।

अस्पतालले अधिकतम ६० जनालाई नियमित सेवा दिइरहेको छ । जनशक्ति र भवन थप गर्न सकेमा अझै बिरामीको सेवा दिन सकिने अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा किरण तिवारीले जानकारी दिए ।

अस्पतालले गत वर्षमात्रै डायलाइसिस सेवा विस्तार गरेपनि अहिले बिरामीको सङ्ख्या बढेर विभिन्न अस्पतालमा डायलाइसिस गरेर २६ जनाले यस अस्पतालमा पालो पर्खिरहेका छन् । अस्पतालमा मिर्गौलाका बिरामीलाई निःशुल्क उपचार दिन २०७५ सालमा दुई वटा मेशिनबाट सुरु भएको डायलाइसिस सेवा विस्तार गरी हाल ११ मेसिन थपिएपछि मिर्गौला पीडितलाई राहत मिलेको हो । अहिले अस्पतालमा चार चरणमा ६० जना बिरामीले नियमित सेवा लिइराखेको अस्पतालले जनाएको छ ।

डायलाइसिस कक्षमा मिर्गौलारोग विशेषज्ञको अभाव छ । तालिम प्राप्त स्टार्फ नर्सको भरमा डायलाइसिस सेवा प्रदान गरिरहेको र आवश्यक पर्दा जनरल फिजिशियनले सहयोग गरिरहेको अस्पतालको भनाइ छ । अहिले आठ जना स्वास्थ्यकर्मी डायलाइसिस कक्षमा सेवा दिइरहेका छन् ।

अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेपछि डायलाइसिस सेवाका लागि विशेषज्ञ चिकित्सक, उपकरण र भौतिक संरचनाको अभाव देखिन थालेको हो ।

प्रतिक्रिया