अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

नेपालखोज २०८२ कार्तिक १८ गते ८:४०

राँझा (बाँके) । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।

नरैनापुर-६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने/आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटोरिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज-बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटोरिक्साले स्थानीयवासीलाई सहज बनाएको उनको भनाइ छ ।

सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा यसअघि सवारीसाधनको सास्ती हुँदै आएको थियो । हिजोआज रिक्सा चढेर एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर-५ जमुनीगाउँकी टीका बूढाथोकीले बताए ।

नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटोरिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटोरिक्साले सुविधा पुगेको छ ।

अटोरिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुपर्ने यात्रा १५/२० मिनेटमा पुगिने बूढाथोकीले जानकारी दिए ।

अटोरिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर-१ कटकुइँया निवासी अटोचालक जाकिर अलीले बताए । चार सिट क्षमताको अटोरिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि २०० भाडा लिने गरेको उनको भनाइ छ । रासस

प्रतिक्रिया