सोमबार, पुष ७, २०८२

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

नेपालखोज २०८२ कार्तिक २० गते ६:२७

कञ्चनपुर । जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले देशभरि फुटबल प्रतियोगिता बढेपछि रेफ्री र कोचको अभावलाई मध्यनजर गरी प्रशिक्षण सञ्चालन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ३४ प्रशिक्षार्थी सहभागी भएका छन् । मङ्गलबारदेखि सुरु भएको एक साताको प्रशिक्षणमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण हुनेछ ।

पछिल्लो समय स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितामा रेफ्री र कोचको अभाव हुन थालेपछि अन्यत्रबाट मगाउनुपर्ने बाध्यता रहेकाले प्रशिक्षणका लागि सहकार्य गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले बताए ।

खेलकुद विकास समिति कञ्चनपुरका सदस्य विकास महताले स्थानीयस्तरमा फुटबलको ‘क्रेज’ बढ्दै गएको र प्रशिक्षणले फुटबल खेलको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) का पूर्वसहायक रेफ्री रोजन श्रेष्ठले प्रशिक्षण दिइराख्नुभएको छ । प्रशिक्षणमा १८ देखि ३५ वर्षसम्मका खेलाडी र पूर्वखेलाडी सहभागी छन् । रासस

प्रतिक्रिया