चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

नेपालखोज २०८२ कार्तिक २० गते २०:४७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन् ।

आज मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनमा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गरे । सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले सिनेमाको कथावस्तु, समय सुहाउँदो दर्शकमैत्री तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गरे । उनले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाए ।

सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सही व्यक्ति ल्याउन निर्देशन पनि दिए । उनले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षालगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया