‘मौरिस हर्जोग’ पदमार्ग पुन:सञ्चालन

नेपालखोज २०८२ कार्तिक २१ गते १८:५५

म्याग्दी । अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ ।

यही कात्तिक १० देखि १५ गतेसम्म परेको झरी र हिमपातका कारण स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले उक्त पदमार्ग भ्रमणमा रोक लगाएका थिए । मौसममा सुधार भएपछि पदमार्ग पुनःसञ्चालन भएको अन्नपूर्ण गाउँपालिका-४ का वडासदस्य श्याम पुर्जाले जानकारी दिए ।

छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकैपटक साहसिक यात्रामा रुचि राख्नेहरूका लागि अन्नपूर्ण हिमालको आधार शिविर नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।

फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको आधार शिविर पुगेर फर्कन सकिन्छ ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।

गत वसन्त यामदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका बासिन्दाले हुमखोला, फुतफुते झरना, साघीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर ५०-५० जना क्षमताको होटल सुरु गरेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा स्थायी भौतिक संरचना निर्माणका लागि प्रक्रिया पूरा गरेर सरकारको अनुमति लिनुपर्छ । भुसकेतका होटल व्यवसायी माइकल पुनले काठ, त्रिपाल, जस्तापाताको टहरा तथा टेन्टमा पर्यटकलाई राख्ने गरिएको बताए।

प्रतिक्रिया