खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल

नेपालखोज २०८२ कार्तिक २१ गते १९:२६

बनेपा (काभ्रे) । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर)बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइकार्यको औपचारिक शुभारम्भ गरेका छन् ।

काभ्रेको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा पुगेर उनले प्रिन्टिङ प्रेस लाइसेन्स छपाइको आज शुभारम्भ गरेका हुन् । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइकार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस कार्यले आमसेवाग्राहीले भोगेका सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टकटक्याएर लाइसेन्स छपाइ सुरु गरिएको बताउँदै भने, ‘वर्षौँदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणको धुलो टकटक्याएर छपाइ सुरु गरिएको छ । तीन वर्षदेखि मेसिन उपयोगविहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहरजस्तो भएको थियो ।’

मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको उल्लेख गरे । उनका अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्र सीमित रहेको अवस्यामा लाइसेन्स छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताए ।

प्रतिक्रिया