रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरेका छन् । आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गरे । प्रतिवेदनमा भनिएको छ, ‘रास्वपाले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन माग गरेको छ, जसमा दोषीलाई कारबाही गरिनुपर्छ ।’ उनले घटना योजनाबद्ध भएको आशङ्का गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताए ।
आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशङ्कालाई पनि बढाएको छ ।’
दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन नसक्ने भन्दै प्रतिवेदनमा दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढ्ने उल्लेख गरिएको छ । दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुनेछ भन्ने उल्लेख गरिएको छ । छानबिनबाट मात्र भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भीड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यवाहक सभापति अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेको बताए ।
प्रतिवेदनमा आगामी चुनावलाई देशको रूपान्तरणका लागि निर्णायक अवसरका रूपमा चित्रण गरिएको छ । पार्टीले स्पष्ट बहुमतको सरकारले मात्र देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताको अन्त्य गर्न, नीतिगत स्थिरता प्रदान गर्न र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने ठहर रास्वपाले गरेको छ ।
महामन्त्री बुर्लाकोटी तीन जिल्लाबाहेक अन्य जिल्लामा सङ्गठनको संरचना पुगेको बताए । ७४ जिल्लमा साङ्गठनिक संरचना बनिसकेको र विभिन्न आयोग तथा साङ्गठनिक संरचना निर्माणको काम भइरहेको उनले बताए । हालसम्म ४६४ पालिकामा अधिवेशन सम्पन्न भइसकेको उनको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया