लहानमा नौ करोडको लागतमा अत्याधुनिक ‘कार्निभल सिनेम्याक्स’ सञ्चालनमा

नेपालखोज २०८२ कार्तिक २२ गते १०:५४

सिरहा । यहाँको लहान नगरपालिका-३ स्थित हस्पिटलचोक नजिकै रु नौ करोड लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ ।

स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हललाई सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार साँझ एक समारोहबीच उद्घाटन गरे ।

कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो एडभान्स प्रविधिमा बनेको दाबी गरेका छन् । उनका अनुसार, नवनिर्मित सिनेमा हलको क्षमता १३८ सिट रहेको छ ।

अध्यक्ष मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा प्रस्तुत गरेका छन् ।

उनका अनुसार, यस हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन् । दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि रु ९०० सम्म निर्धारण गरिएको छ, र मनोरञ्जनका लागि हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ ।

मधेस प्रदेशमा वीरगञ्जबाहेक अन्यत्र सुविधासम्पन्न हल नभएको अवस्थामा लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुर आसपासका बासिन्दालाई लक्षित गरेको छ । यसअघि स्तरीय सिनेमा हल नहुँदा यी क्षेत्रका दर्शक फिल्म हेर्न वीरगञ्ज वा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो ।

यसका साथै, भारतीय सीमा क्षेत्र नजिक रहेकाले सीमावर्ती जिल्लाका लाखौँ भारतीय नागरिकलाई पनि आकर्षित गर्ने निर्माण पक्षले अपेक्षा गरेको छ । नयाँ सिनेमा हल सञ्चालनमा आउँदा स्थानीय, उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरू उत्साहित भएका छन् ।

यस सन्दर्भमा उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले खुसी व्यक्त गर्दै भने, ‘मोफसलमा ‘गतिलो हल छैन’ भन्ने सिरहावासीको गुनासोको अन्त्य भएको छ । यसलाई गौरवको रूपमा लिनुपर्छ, यसले लहानको पर्यटन तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनेछ ।’

लहान नगरपालिका-७ का वडाध्यक्ष राम औतार शर्माले कार्निभल सिनेम्याक्सजस्ता उद्योगमा भएको लगानीले देशलाई समृद्धिको दिशातिर अग्रसर गराउने बताउँदै नेपाललगायत भारतबाट आउने दर्शकले लहान बजारलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया