अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

नेपालखोज २०८२ कार्तिक २२ गते १३:४३

काबुल । अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ ।

काबुलले वार्ता असफल भएपछि दुवै देशबीच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ । दक्षिण एसियाली छिमेकी दुवै मुलुकबीच गत अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो ।

उक्त समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिहरूले बिहीबार टर्कीमा भेट गरेका थिए । तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

‘वार्ताका क्रममा पाकिस्तानी प्रतिनिधिहरूले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि थोपर्ने प्रयास गरेका थिए, तर न त आफ्नै सुरक्षा सुनिश्चित गर्न चाहेका थिए, न त अफगान सुरक्षाबारे कुनै स्पष्ट दृष्टिकोण दिएका थिए’, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत लेख्दै भने, ‘पाकिस्तानी टोलीको गैरजिम्मेवार र असहयोगी मनोवृत्तिका कारण वार्ता कुनै परिणाममा पुग्न सकेन ।’ यसबारे पाकिस्तान सरकार न मध्यस्थकर्ताहरू दुवैले तुरुन्तै कुनै प्रतिक्रिया दिएका छन् । -रासस/एएफपी

प्रतिक्रिया