इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता असफल, सीमा तनाव झन् बढ्ने सङ्केत

इस्लामाबाद । पाकिस्तान र अफगानिस्तानबीच इस्तानबुलमा सम्पन्न शान्ति वार्ता कुनै ठोस सहमति बिना नै सकिएको छ । दुई देशका अधिकारीहरूले शनिबार वार्ता विच्छेदको कारणका रूपमा एक–अर्कामाथि दोषारोपण गर्दै सीमा तनाव कम गर्ने प्रयास असफल भएको जनाइएको छ ।
हालैका हप्तामा दुवै देशबीच दर्जनौँ सैनिक र सर्वसाधारणको मृत्यु हुने गरी भड्किएको सीमा झडपले वातावरण तनावपूर्ण बनाएको छ । अक्टोबर ९ मा काबुलमा भएको विस्फोटपछि हिंसा झन् तीव्र बनेको थियो । अफगानिस्तानको तालिबान सरकारले उक्त विस्फोट पाकिस्तानले गरेको ड्रोन आक्रमण भएको आरोप लगाउँदै बदला लिने चेतावनी दिएको थियो । यद्यपि, अक्टोबर १९ मा कतारको मध्यस्थतामा गरिएको अस्थायी युद्धविरामले झडप केही हदसम्म रोकिएको थियो ।
अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले वार्ताको असफलताका लागि पाकिस्तानलाइँ दोषारोपण गर्दै भने, ‘पाकिस्तानी मागहरू अनुचित थिए, त्यसैले वार्ता अघि बढ्न सकेन । अहिले वार्ता ठप्प छ ।’
दक्षिणी सहर कान्दाहारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, हामी यस क्षेत्रमा असुरक्षा चाहँदैनौँ । युद्ध हाम्रो पहिलो विकल्प होइन, तर यदि युद्ध सुरु भयो भने, आफ्नो रक्षा गर्नु हाम्रो अधिकार हो ।
मुजाहिदले यसअघि जारी गर्नुभएको लिखित वक्तव्यमा अफगानिस्तानले आफ्नो भूमि कुनै तेस्रो देशविरुद्ध प्रयोग गर्न नदिने र आफ्नो सार्वभौमिकता कमजोर पार्ने कार्य सह्य नहुने स्पष्ट गरेका थिए ।
दुई दिने इस्तानबुल वार्ता टर्की र कतारको मध्यस्थतामा भएको हो । यसलाई सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि दुवै देशबीचको सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको थियो । तर तीव्र ब्याक–च्यानल छलफलहरू हुँदाहुँदै पनि वार्ता ठोस प्रगतिबिना शुक्रबार राति रोकिएको बताइएको छ ।
वार्ता समाप्त भएको छ र हाम्रो प्रतिनिधिमण्डल घर फर्किंदैछ । भविष्यमा कुनै बैठकको योजना छैन, पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले निजी टेलिभिजन जियो न्युजसँग कुराकानी गर्दै अफगान पक्षबाट उल्लङ्घन नभएसम्म युद्धविराम जारी रहनेछ ।
पाकिस्तानले बारम्बार अफगान तालिबानमाथि पाकिस्तानभित्र बढ्दो आक्रमणका लागि जिम्मेवार आतङ्कवादी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) लाई शरण दिएको आरोप लगाउँदै आएको छ । तर काबुलले ती आरोप अस्वीकार गर्दै आफ्नो भूमि अन्य देशविरुद्ध प्रयोग हुन नदिइने दाबी गर्दै आएको छ ।
अफगान तालिबानसँग नजिक सम्बन्ध रहेको टिटिपी समूह सन् २०२१ मा तालिबानले काबुल कब्जा गर्नुअघि नै गठन भएको र त्यसयता झन् सक्रिय भएको बताइन्छ । मुजाहिदले आरोप अस्वीकार गर्दै भने, ‘टिटिपीको गतिविधिका लागि अफगानिस्तान जिम्मेवार होइन । यो समूह हाम्रो सत्तामा आउनु अघि नै बनाइएको थियो ।’
अफगान अधिकारीहरूले वार्ता जारी रहँदा नै सीमापार गोलीबारीमा चार जना सर्वसाधारण मारिएको र पाँच जना घाइते भएको जानकारी दिएका थिए । यो घटनापछि वार्ताको माहोल झन् चर्किएको बताइएको छ ।

प्रतिक्रिया