दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भ तयारी गर्नका लागि कार्यसम्पादन सम्झौता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको छ ।
नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भका रूपमा यो सम्झौतालाई अघि बढाएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार सम्झौताले विद्यालयमा मौजुदा मानव संशाधन, भौतिक संरचना र वित्तीय स्रोत साधनको अधिकतम प्रयोग सुनिश्चित गर्नेछ ।
यसले शिक्षकको पेशागत विकासलाई टेवा पुग्छ, शिक्षण क्षमता अभिवृद्धि हुन्छ, उनले भने, विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउन मद्दत गर्छ । सम्झौताअनुसार विद्यालयले नगरपालिकाले निर्धारण गरेको शैक्षिक क्यालेण्डर बमोजिम वार्षिक कार्यपात्रो निर्माण गरी लागू गर्नुपर्नेछ । प्रत्येक शिक्षकले अध्यापन गर्ने विषयअनुसार वार्षिक कार्ययोजना, एकाइ योजना र दैनिक पाठयोजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
शाखा प्रमुख भट्टले शैक्षिक अनुशासन, पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी समिति, विषयगत समितिलगायत संरचनालाई सक्रिय रूपमा परिचालन गरिने बताए ।
भौतिक व्यवस्थापनतर्फ विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त कक्षाकोठा, फर्निचर, पुस्तकालय, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, बैठक कक्ष, स्टाफ कक्ष, सरसफाइ, खानेपानी, शौचालय, अपाङ्गमैत्री तथा बालमैत्री संरचना विकासलाई प्राथमिकता दिइने सम्झौतामा उल्लेख छ ।
वित्तीय पक्षमा विद्यालयले शैक्षिक सत्रको पहिलो महिनामै वार्षिक बजेट तयार गरी विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गर्नुपर्नेछ । त्यसैगरी विद्यालय सुधार योजना, सामाजिक परीक्षण र लेखापरीक्षण समयमै सम्पन्न गरी प्रतिवेदन नगरपालिकामा बुझाउनुपर्ने प्रावधान राखिएको छ । सबै प्रकारका कारोबार अनिवार्य रूपमा बैंक प्रणालीमार्फत गर्ने र दोहोरो लेखा प्रणालीको सिद्धान्तअनुसार खाता सञ्चालन गर्ने व्यवस्था सम्झौतामा समावेश गरिएको छ ।
मानव संशाधन व्यवस्थापनतर्फ कक्षागत शिक्षक–विद्यार्थी अनुपात मिलाउने, विषयगत समिति गठन गर्ने, सिकाइ उपलब्धिको अभिलेख तयार गर्ने र सुधार योजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । विद्यार्थी मूल्याङ्कनलाई केवल अङ्कका आधारमा नभई सिकाइ सुधारका अवसरका रूपमा प्रयोग गर्ने उल्लेख गरिएको छ ।
नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले सम्झौता गरिएका प्रधानाध्यापकहरूले तत्काल विद्यालयमा गुनासो सुन्ने अधिकारी तोक्ने, विद्यालयमा कार्यरत शिक्षकसँग कार्य सम्पादन सम्झौता गर्ने, करार शिक्षाको म्याद थप्ने र त्यसको जानकारी गराउने, शिक्षण सिकाइ सुधारका लागि उच्च शैक्षिक उपलब्धी हासिल गर्नका लागि प्रयासरत हुनुपर्नेछ ।
शैक्षिक व्यवस्थापन सूचना प्रणाली(इएमआइएस) अपडेट गर्ने, बालसञ्जाल गठन गर्ने, बेरुजु फस्र्यौट गर्ने, विद्यालयको वेवसाइट निर्माण गर्ने, फेसवुक पेज तयार गर्ने, बुक कर्नरलाई व्यवस्थीत गर्ने र विद्यार्थी शिक्षकलाई विद्यालय पोशाकमा अनिवार्य विद्यालय आउने व्यवस्था गर्न सम्झौता गरिएको उनले जानकारी दिए ।
सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संयोजक रहने गरी पाँच सदस्यीय समिति गठन गर्ने प्रावधान राखिएको छ । हरेक महिनाको प्रस्तुतीकरण मूल्याङ्कन गरी विद्यालयको प्रगति मापन गरिने र उत्कृष्ट विद्यालयलाई घोषणा गर्दै प्रोत्साहन गरिने छ, उनले भने, सम्झौतको अवधि एक शैक्षिक सत्रसम्म रहने व्यवस्था गरिएको छ ।
प्रधानाध्यापकहरूसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सम्झौताले विद्यालयमा उत्तरदायित्व र पारदर्शिताको बोध गराउने बताए ।
प्रधानाध्यापकहरूसँग गरिएको सम्झौताले विद्यालयमा जिम्मेवारीको स्पष्टता ल्याउँछ, उनले भने, शिक्षण–सिकाइमा सुधार ल्याउने कार्यसँगै विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउने अपेक्षा गरिएको छ ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले कार्य सम्पादन सम्झौताबाट सामुदायिक विद्यालयमा अनुशासन, पारदर्शिता, परिणाममुखी पठन–पाठन र समग्र शैक्षिक विकासमा सुधार हुने विश्वास व्यक्त गरे । उनले थपे, “यसले विद्यार्थीको सिकाइ परिणाम मात्र नभई विद्यालय शिक्षामा समुदायको विश्वास पनि बढाउनेछ । हाल शुक्लाफाँटा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा १५ हजार ५३० विद्यार्थी अध्ययनरत छन् भने नगरपालिकाको साक्षरता दर ९५ प्रतिशत रहेको छ ।








प्रतिक्रिया