सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन

नेपालखोज २०८२ कार्तिक २४ गते २२:००

काठमाडाैं । डिजिटल माध्यमद्वारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उद्देश्यले सरकारले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको हो । राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठूलो फड्को मारेको बताए ।

सञ्चारमन्त्री खरेले एआई केन्द्रको स्थापनासँगै नेपाललाई डिजिटल नेपाल र एआई तथा ‘डिजिटल ट्रान्सफरमेसन’ को बाटोमा अघि बढेको सन्देश गएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवद्र्धनको सन्दमा एआईले जोड्ने विश्वास व्यक्त गरे । सूचना प्रविधि केन्द्रले सार्वजनिक तथा निजी क्षेत्रको सेवा प्रवाहलाई डिजिटल माध्यद्वारा छिटो र सहज बनाउन नीतिगत पहल गर्ने उनले बताए ।

यसका साथै एआईको प्रयोगले कुनै पनि निकायमा जनशक्ति अभावलाई न्यूनीकरण गर्न तथा डिजिटल प्लेटफर्ममार्फत प्रवाह हुने गलत सूचनाको सत्यतथ्य पुष्टि गर्न उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख सहसचिव आदेश खड्काले सरकारले गत साउनमा एआईसम्बन्धी नीति २०८२ लाई कार्यान्वयनमा ल्याइएसँगै एआई केन्द्रको स्थापना गरिएको बताए ।

उनका अनुसार एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा नेपाललाई डिजिटल युगमा अगाडि बढाएको छ । यसले नेपालका सार्वजनिक तथा निजी क्षेत्रलाई एआई प्रयोगका लागि नीतिगत कार्य गर्नेछ ।

सूचना प्रविधिविज्ञ गौरव पाण्डेले एआई केन्द्र स्थापनाले निजी क्षेत्रलाई एआई प्रयोगमा लगानी र सहभागी गराउन उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

केन्द्रले एआईको माध्यमद्वारा सेवा प्रवाह गर्न चाहने निजी क्षेत्रलाई नीतिगत कामका लागि सहजीकरण गरी दिने, तथा एआईसम्बन्धी कार्यक्रम निर्माणलाई प्रोत्सान दिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया