डोल्पाका याक मुस्ताङमा

मुस्ताङ । हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ झारिएको छ । यहाँ ल्याइएका याक बिक्रीका लागि जोमसोमलगायत स्थानमा झारिएको हो ।
बर्सेनि कात्तिक र मङ्सिर महिनामा उपल्लो डोल्पाका विभिन्न स्थानमा पालिएका अग्ला कद भएका याक मुस्ताङमा बिक्री गर्न ल्याउने चलन छ ।
हिउँदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा डोल्पाबाट ल्याएका याकको किनबेच चल्छ । तर, हिउँदयाममा तरकारी हुने पहिलो अवस्था भने अहिलेको सडकको अवस्थाले फेरिएको छ ।
मुस्ताङमा हिउँदयामका लागि मानिसले याक र भेडाच्याङ्ग्राको सुकुटी बनाउने परम्परागत संस्कृति नै हो । तर, भेडाच्याङ्ग्रा महँगो पर्ने भएको र याकको मासु स्वास्थ्यवद्र्धक र थप स्वादिलो हुने भएकाले मुस्ताङी अधिकांशले याककै सुकुटी पारेर झुण्ड्याउने प्रचलन रहेको छ ।
यसरी सुकुटी पारेर राखेको याकको सुकुटी हिउँदयाममा तरकारीको अभाव हुँदा विभिन्न तरकारीमा मिसाएर खाने गरिन्छ । उपल्लो डोल्पा प्रसिद्ध याक चाैरीपालनको केन्द्र नै मानिन्छ । त्यसो मुस्ताङमा पनि याक पाल्नेको सङ्ख्या उल्लेख छ ।
उच्च हिमाली क्षेत्र उपल्लो डोल्पामा प्रशस्त चरन क्षेत्र र याकचौँरीका लागि सन्तुलित हावापानी भएकाले डोल्पाली याक जक्खड र अग्ला कदको हुन्छन् ।
उपल्लो डोल्पाको उच्चलेक, खर्क र बुगिनमा हिमाली भेगमा पाइने यार्सागुम्बा, निरमसी, जटामसी, पाचऔँलेलगायत जडीबुटी प्रशस्तै हुने र त्यहाँका याकले त्यस्ता जडीबुटी सेवन गर्ने भएकाले मुस्ताङकोभन्दा डोल्पाली याक अब्बल मानिन्छन् ।
मुस्ताङका याक होचो कद हुने भएकाले यहाँका याक पारखीहरुले डोल्पालीलाई याकलाई मन पराउने गरेको पाइएको हो । विगतका वर्ष झैँ यस वर्ष पनि डोल्पाबाट बिक्रीका लागि मुस्ताङमा याक ल्याइएको हो । मुस्ताङमा मङ्गलबारसम्म पाँच हुल याक झरिसकेका छन् । थप दुई हुल थपिने क्रममा रहेको जनाइएको छ ।

प्रतिक्रिया