विद्युत बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गर्‍याे : मन्त्री घिसिङ

नेपालखोज २०८२ कार्तिक २७ गते ९:१२

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब सो समस्या हटेको बताएका हुन् ।

बिहीबार सामाजिक संजालमार्फत मन्त्री घिसिङले भनेका छन्, ‘विगतमा आमसर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ । यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ ।’

प्रतिक्रिया