भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

नेपालखोज २०८२ कार्तिक २७ गते १२:३८

भोजपुर । यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं-तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ-गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् ।

केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन् । भोजपुर नगरपालिका-५ का किसान भिमसेन फुयालले भने, ‘हामी किसान अहिले धान धन्काउने काममा व्यस्त छौँ । केहि समयमा अघिको वर्षाले ढिला भयो तर अहिले मौसम खुल्दा राहत महसुस गरेका छौँ । अर्मपर्म गरेर आ-आफ्नो खेतको धान थन्काउने काम जुेटका छौँ ।’

वर्षातका कारण धानबालीमा केही क्षति पुगेको भए पनि बाँकी बाली भण्डारण गर्ने काम भईरहेको स्थानीय कृषक कमला थापाले बताए ।

बेमैसमी वर्षा, रोग कीराको समस्याका कारण अघिल्लो वर्षको तुलनामा उत्पादन केही घट्ने किसानको अनुमान छ । धान यहाँका किसानको प्रमुख अन्नबाली हो । जिल्लाका नौ वटै स्थानीय तहमा धानको खेती हुने गरेको छ ।

प्रतिक्रिया