मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन संसद्को राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो ।
छलफलपछि समितिले मुलुकमा शान्ति-सुरक्षाको सुदृढता र निर्वाचनमा जनताको स्वतन्त्र सहभागिता सुनिश्चित गर्नका लागि ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको हो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले निर्देशन दिँदै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गर्न प्रहरीको मनोबल उच्च बनाउने, जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियारहरू संकलन गर्ने र ती हतियार लुट्नेहरुलाई खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने निर्देशन दिए ।
बैठकमा समितिले आगामी निर्वाचनको तयारी, शान्ति-सुरक्षाको अवस्था र जनस्तरमा विश्वास पुनःस्थापना गर्न सरकारको योजना सम्बन्धमा पनि छलफल गरेको छ ।

प्रतिक्रिया