गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

नेपालखोज २०८२ कार्तिक २८ गते २०:४५

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण सम्पन्न गरेका छन् । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा उनले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गरे ।

आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्दै उनले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गरे ।

गृहमन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयका संरचनाको पुनर्निर्माणको गति र कार्यक्षमताको विशेष रूपमा प्रशंसा गर्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी तथा उनको नेतृत्वमा कार्यरत सम्पूर्ण टोलीलाई खुलेर धन्यवाद दिए ।

पुनर्निर्माणपछि सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका नयाँ संरचनामा आधुनिक कार्यकक्ष, सेवा काउण्टर, सिसीटिभी प्रणाली, आपतकालीन प्रतिक्रिया कोठा तथा नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले गृहमन्त्री अर्यालसमक्ष जानकारी दिएका थिए ।

प्रतिक्रिया