सोमबार, पुष ७, २०८२

नेपाली नेताहरूको मनोविज्ञान

नेपालखोज २०८२ मंसिर १ गते ११:०१

नेपालको वर्तमान सन्दर्भमा अधिकांश नेताहरूलाई वास्तविकता स्वीकार गर्न किन यति कठिन भएको होला? सामाजिक-राजनीतिक मनोविज्ञानका सिद्धान्तले यस प्रकारका समाजमा हुने मानवीय स्वभाव र अन्तरक्रियालाई बुझ्न महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गर्दछ। आज यसै विषयमा राजनीतिक समाजशास्त्रका दृष्टिकोणले विवेचना गर्न प्रयास गरौँ।

सर्वप्रथम सबै नेताहरू बाहिर देखिएको जस्तै अनभिज्ञ चैँ छैनन्। हुँदैनन्। शतप्रतिशतमा नभए पनि धेरैजसोको अन्तस्करणमा वास्तविकताको बोध अवश्य हुन्छ। तर राजनीतिक मनोविज्ञानले के भन्छ भने मानिसहरू विशेष गरी शक्तिशाली व्यक्ति संज्ञानात्मक असङ्गति (Cognitive Dissonance) को सिकार बनेका हुन्छन्। संज्ञानात्मक असङ्गतिको सिकार बन्नु भनेको एउटा व्यक्तिका विश्वास, मूल्य, पहिचान र यथार्थ बिच टकराब उत्पन्न हुँदा त्यसले मनभित्र असहजता, तनाव र अपराध बोध पैदा गर्छ। यही मनोवैज्ञानिक पीडाबाट बच्न मानिसले सत्यबाट आँखा चिम्लन्छ, आफूलाई सही साबित गर्ने भाष्य बनाउँछ र वास्तविकता अस्वीकार गर्न थाल्छ। किनभने उसलाई सत्यलाई स्वीकार गर्नुभन्दा अस्वीकार गर्नु मनोवैज्ञानिक रूपमा सहज हुन्छ। नेपालका नेताहरूले दशकौँदेखि आफूलाई ‘लोकतन्त्र र परिवर्तनका सिपाही’ भनी प्रस्तुत गरेका छन्। अहिले जब जनताले नै तिनीहरूलाई अस्वीकार गरिरहेका छन्, यो सत्य स्वीकार गर्नु भनेको आफ्नो सम्पूर्ण राजनीतिक पहिचानलाई क्षति पुर्‍याउनु हुन जान्छ।

राजनीतिक मनोविज्ञानको ‘शक्ति र अहङ्कारको सिद्धान्त’ ले अर्को महत्त्वपूर्ण पक्ष उजागर गर्छ। एउटै व्यक्ति लामो समयसम्म शक्तिमा रहँदा मानिसको मस्तिष्कमै परिवर्तन हुन्छ। अध्ययनले के देखाउँछन् भने लामो समय शक्तिमा रहेर सुविधा भोग गरेपछि शक्तिशाली व्यक्तिहरूमा सहानुभूति अभाव (Empathy Deficit) विकास हुन्छ। अर्थात्, अरूको भावना र परिस्थिति बुझ्ने क्षमता घट्दै जान्छ। उनीहरू वर्षौँ पहिले आफैले भोगेका दुःख र सामान्य जनताको दैनिक सङ्घर्ष, निराशा र आक्रोशबाट पूर्ण रूपमा विच्छेद भइसकेका हुन्छन्। गाडीको सिसाभित्र, सुरक्षा घेराभित्र, वातानुकूलित कोठाभित्र बसेर उनीहरूले जनताको वास्तविकता महसुस नै गर्न सक्दैनन्।

नेताहरूलाई सत्य स्विकार्न गाह्रो पर्नुमा पुष्टि पूर्वाग्रह (Confirmation Bias) ले पनि भूमिका खेल्छ। उनीहरू समर्थकहरूको भीडबाट घेरिएका हुन्छन् जसले सधैँ ‘हजुर ठिक, हजुरले भनेको सत्य हो, हजुर गजब हुनुहुन्छ’ भन्छन्। भनिरहन्छन्। अनि नेताहरूले आफ्नो विश्वासलाई पुष्टि गर्ने सूचना मात्र स्विकार्छन् र विपरीत प्रमाणहरूलाई बेवास्ता गर्छन्। यसले एउटा ‘प्रतिध्वनि कक्ष’ (Echo Chamber) सिर्जना गर्छ जहाँ वास्तविकता बिस्तारै हराउँदै जान्छ।

आजको द्रुत परिवर्तन भइरहेको समाजको अवस्थामा कतिपय ६०-७०/८० वर्षका नेताहरूले आफ्नो युवावस्थाको नेपाल र वर्तमान नेपाल बिचको फरक बुझ्न सक्दैनन्। उनीहरूले आफ्नो समयको सङ्घर्ष र सफलताको आधारमा मात्र सोच्छन्। तर आजको डिजिटल युग, सूचनाको खुला प्रवाह, र बदलिएको सामाजिक अपेक्षा—यी सबै उनीहरूको अनुभवभन्दा बाहिर छन्। यो ‘संज्ञानात्मक अश्मीकरण’ (Cognitive Fossilization) हो जहाँ नयाँ वास्तविकतालाई बुझ्ने र ग्रहण गर्ने मानसिक लचकपन हराइसकेको हुन्छ।

कुनै पनि व्यक्तिले विशेष गरी नेताहरूले आफ्ना विगतका निर्णयहरूलाई औचित्य दिन निरन्तर प्रयास गर्छन्। उनीहरूका गल्तीहरू वा जनताप्रतिको विश्वासघातलाई ‘परिस्थितिजन्य बाध्यता’ आदि भन्दै उनीहरूले आफ्नै मनमा औचित्य स्थापना गरिसकेका हुन्छन्। यो मनोवैज्ञानिक रक्षा संयन्त्र यति बलियो हुन्छ कि उनीहरू आफैँले पनि आफ्ना झूटलाई सत्यका रूपमा विश्वास गर्न थाल्छन्।

अर्को कुरा सामूहिक पहिचान र पार्टी संस्कृतिले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। नेपालका ठुला पार्टीहरूमा विकसित भएको संस्कृति ‘आलोचना सहने’ भन्दा ‘निष्ठा देखाउने’ मा केन्द्रित छ। नेता बन्नका लागि दशकौँ लाग्छ र त्यो प्रक्रियामा व्यक्ति पार्टी लाइनको अन्धभक्त बन्न बाध्य हुन्छ। बनाइएको हुन्छ। नत्र भित्तैमा पुर्‍याइन्छ, निष्कासन नै हुन्छ। यस्तो वातावरणमा सत्य बोल्नु भनेको आफ्नो समूहबाट बहिष्कृत हुनु हो। सामाजिक सिद्धान्तले यसलाई समूह चिन्तन (Groupthinking) भन्छ। यस अनुसार नेतालाई सत्य स्विकार्न र सत्य बोल्न भन्दा समूहको सहमति र एकता कायम राख्नु व्यक्तिगत विवेक र सत्यभन्दा बढी महत्त्वपूर्ण हुन्छ।

त्यसै गरी ‘डुबेको लगानीको भ्रान्ति’ (Sunk Cost Fallacy) को अवधारणा पनि नेताहरूलाई सत्य स्विकार्न गाह्रो हुने कारण बुझ्न उत्तिकै प्रासङ्गिक छ। नेताहरूले आफ्नो राजनीतिक करियरमा ठुलो ‘लगानी’ गरिसकेका छन्। समय, सम्बन्ध, सम्झौता र कहिलेकाहीँ आफ्नो नैतिक मूल्य पनि। अहिले ‘यो सबै गलत थियो’ भनेर स्वीकार गर्नु उनीहरूका लागि असम्भव जस्तै लाग्छ। यो ठिक त्यस्तै अवस्था हो जहाँ एउटा व्यक्तिले कुनै घाटामा गइरहेको व्यवसायमा ठुलो लगानी गरिसकेपछि पहिलाको लगानी ‘बर्बाद’ भएको स्वीकार गर्न मन नगरेर थप पैसा खन्याउँदै जान्छ।

यसलाई सामाजिक सिद्धान्तको ‘संरचनात्मक बन्धन’ (Structural Constraints) को दृष्टिकोणले पनि व्याख्या गर्न सकिन्छ। नेताहरूले व्यक्तिगत रूपमा आफ्नो मनमा सत्यलाई बुझे पनि उनीहरू एउटा जटिल राजनीतिक, आर्थिक र सामाजिक जालमा फसेका हुन्छन्। उनीहरूसँग व्यापारी वर्ग र अन्य शक्ति केन्द्रहरूसँग अनौपचारिक सम्झौता हुन्छ। सत्य स्वीकार गरेर परिवर्तनको बाटोमा हिँड्नु भनेको यी सबै स्वार्थी समूहहरूको विरोधको जोखिम मोल्नु हो। यो उनीहरूको लागि राजनीतिक आत्मघात जस्तै हो।

अनि लिगेसीको विषय अर्थात् राजनीतिक विरासतको चिन्ता पनि महत्त्वपूर्ण कारक हो। नेपालका धेरैजसो दलका शीर्ष नेताहरू आफ्नो करियरको अन्तिम चरणमा छन्। उनीहरूले आफूलाई भोलि इतिहासमा कसरी सम्झेलान् भन्ने कुरामा पनि चिन्तित हुन्छन्। सत्य स्वीकार गर्नु वा आफ्ना गल्तीहरू मान्नु भनेको आफ्नो ‘विरासत’ लाई कलङ्कित गर्नु हो भन्ने उनीहरू ठान्छन्। तर उनीहरूलाई के थाहा छैन भने इतिहासले झूट र अहङ्कारलाई इमानदारी र विनम्रताभन्दा धेरै कठोरताका साथ न्याय गर्छ।

यसरी नेताहरूलाई वास्तविकता स्वीकार गर्न कठिन हुनुको कारण एउटा मात्र छैन, बहु आयामिक छ। यो मनोवैज्ञानिक रक्षा संयन्त्र, सामाजिक संरचना, संस्थागत जडता र व्यक्तिगत अहङ्कारको जटिल मिश्रण हो। उनीहरूको भित्री हृदयमा सत्य थाहा भए पनि त्यसलाई स्वीकार गर्नु उनीहरूका लागि मनोवैज्ञानिक, सामाजिक र राजनीतिक रूपमा असम्भव जस्तो बन्दछ। र, इतिहासले के स्पष्ट पारेको छ भने सत्य स्वीकार नगर्ने नेतृत्वलाई अन्ततः वास्तविकताले नै कठोरतापूर्वक विस्थापित गर्दछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया