आइतबार, पुष ६, २०८२

समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल

नेपालखोज २०८२ मंसिर ५ गते २०:३३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित ‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचार’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

सञ्चारमन्त्री खरेलले व्यापक डिजिटल साक्षरतामार्फत डिजिटल विभाजनलाई कम गर्न एआईबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिए । मन्त्री खरेलले सरकारले ‘एआई नीति २०८२’ को निर्देशनअनुसार राष्ट्रिय एआई काउन्सिल र राष्ट्रिय एआई सेन्टर स्थापना गरिसकेको जानकारी दिए ।

उनले एआईको प्रयोग सबैका लागि समावेशी, नैतिक, सुरक्षित र लाभदायक हुनुपर्छ भन्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए । मन्त्री खरेलले सरकारको रणनीति डिजिटल साक्षरता विस्तार गरी डिजिटल विभाजन अन्त्य गर्ने, महिला, युवा र सीमान्तकृत समुदायलाई सशक्तीकरण गर्नेमा केन्द्रित रहेको बताए ।

उनले नागरिकको डेटा गोपनीयता र अधिकारको रक्षा गर्दै जिम्मेवार आविष्कारलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले यो महत्त्वाकाङ्क्षी लक्ष्य सरकार एक्लैले पूरा गर्न नसक्ने भन्दै निजी क्षेत्र, प्राज्ञिक वर्ग र अन्तरराष्ट्रिय साझेदारको सहकार्यमा जोड दिए । नेपाल र भारतबीचको गहिरो मित्रताले यस सहकार्यका लागि बलियो आधार प्रदान गरेको उल्लेख गर्दै मन्त्री खरेलले अनुसन्धान, सीप विकास र ज्ञान आदानप्रदानमा सहकार्यलाई थप गहिरो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया