बयालीस साल पर्व र हामीले नसुनेका कथा

आजको ठीक १३९ वर्षअगाडि १९४२ कात्तिक शुक्ल पूर्णिमा अर्थात् मंसिर ९ गते तदनुसार इ.सं. १८८५ नोभेम्बर २२ आइतबारका दिन राणा शासनले कोल्टे फेरेको थियो । पाण्डे, बस्न्यात, थापा तथा चौतारियाहरूलाई समाप्त पारेर कोतपर्वबाट सत्तामा पुगेका जङ्गबहादुरको मृत्युको दश वर्ष नपुग्दै जङ्गबहादुरका सन्तानहरू तथा अन्य दाजुभाइका सन्तानहरूलाई सिध्याएर धीर शमशेरका सत्र भाइ शमशेर खलकमा एकछत्र सत्ता पुगेको दिन हो । जङ्गबहादुरले राजनीतिक खिचातानी चलिरहँदा कोतपर्वमार्फत देशमा खिचातानीको राजनीति समाप्त गरेका थिए । तर, बयालीस साल पर्वले पारिवारिक सत्ता लोलुपताले गर्दा हत्या हिंसा अंगिकार गरेर सत्तामा शमशेर खलकको राज भएको थियो । यसर्थ दुवैलाई एउटै नजरमा हेर्न सकिँदैन ।
सुरुवात धीर शमशेरबाट
हुन त बयालीस साल पर्व श्री ३ रणोद्वीप सिंहको हत्या गरी धीर शमशेरका सन्तान श्री ३ हुने प्रपञ्च नै थियो। तर याे जङ्गबहादुरका सन्तान खासगरी जगतजङ्गलाई सिध्याउने खेल पनि थियो । तर, यस खेलको सुरुवात धीर शमशेरले ३८ साल पर्वका नाममा प्रचलित भाइभारदार हत्या गरेको घटनाबाट नै सुरु भएको थियो ।
१९३३ सालमा श्री ३ जङ्गबहादुरको मृत्यु भएपछि श्री ३ रणोद्वीप सिंह कुँवर बने भने कमान्डर इन चिफ जगत शमशेर बने । रणोद्वीपपछि श्री ३ हुने पालो जगत शमशेरको थियो । तर, अचानक १९३६ सालमा जगत् शमशेरको पनि निधन भयो । उनको निधनपछि धीर शमशेरले कमान्डर इन चिफ पाए ।
अब श्री ३ हुने पालो धीर शमशेरको बन्यो । यसैबीच, जङ्गी लाठ रहेका जङ्गका जेठो छोरा जगतजङ्गको पालो तेस्रोमा थियो । तर, जगतजङ्गमा श्री ३ बन्ने उन्माद बढिसकेको थियो । उनले श्री ३ बन्नका लागि निकै धर्मकर्म गरेका थिए । पशुपतिमा ठूलो बसाहा पनि उनैले बनाइदिएका थिए । यस्तैमा धीर शमशेरलाई यो कुरा चित्त बुझेको थिएन । केही गरी जगतजङ्ग श्री ३ भइहालेमा आफ्ना सत्र भाइ छोराको श्री ३ बन्ने सम्भावना निकै न्यून हुने थियो । यसर्थ धीरले नै जगतजङ्ग मात्र होइन, पूरै जङ्ग खलकलाई नै कमजोर बनाउने दाउ खेल्न थाले ।
अठतीस साल पर्व
यस्तैमा एक दिन जगतजङ्गले आफ्नै काका धीर शमशेरको खिसी टिउरी गर्दै गरेको सुने । अंग्रेज अफिसरको अगाडि धीर शमशेरको बेइज्जत भएको कुरा सबैसामु सुनाउँदै गरेको सुने । धीरलाई सह्य भएन । यस्तैमा ४ पुस १९३८ मा श्री ३ रणोद्वीप जाडो छल्नका लागि तराईमा सिकारका लागि निस्किए । प्रधानमन्त्री तथा प्रधानसेनापतिको मुख्तियारी भाइ धीर शमशेरलाई सुम्पिए । त्यसैबीच जगतजङ्गले आफ्ना काका रणोद्वीप र धीरको हत्या गरेर श्री ३ बन्ने षड्यन्त्र रचेको आरोप लाग्यो ।
यस षड्यन्त्रमा उनलाई साथ दिनेमा नरेन्द्रविक्रम शाहको पनि नाम थियो । षड्यन्त्रअनुसार श्री ३ तथा प्रधानमन्त्री जगतजङ्ग, श्री ५ नरेन्द्रविक्रम शाह, कमान्डर इन चिफ पद्मजङ्गलाई बनाउन लागेको आरोप लगाइएको थियो । यसमा के कति सत्य थियो भन्न सकिँदैन । तर, आरोपपछि जङ्ग खलकलाई पूरै कमजोर भने बनाइएको थियो । श्री ३ रणोद्वीपलाई तत्कालै सिकारबाट फिर्ता बोलाइयो । ५ माघको बिहानै आरोपित विद्रोही सबैलाई श्री ३ सामु ल्याइयो । २३ जनालाई १२ माघमा विभिन्न ठाउँमा काटिएको थियो ।
जगतजङ्ग ब्रिटिस रेसिडेन्सीमा शरण लिएर भारत प्रवासमा लागे । अंग्रेज सरकारलाई अनुरोध गरेर नरेन्द्रविक्रमलाई भारतको चुनार जेलमा पठाइयो । यस घटनापछि जङ्गका दुई छोरी र युवराज त्रैलोक्यका दुई रानीहरू पनि धीर शमशेरका पक्षमा लागे । यस घटनापछि जङ्ग खलक पक्षका भाइभारदारहरू पनि खोजीखोजी काटिए । यसरी जङ्ग खलकलाई एकदम कमजोर बनाइयो ।
१९४१ सालमा धीर शमशेरको पनि अचानक मृत्यु भयो, जसले गर्दा धीर शमशेरको ठाउँमा कमान्डर इन चिफ जीतजङ्गलाई बनाइयो । कमान्डर इन चिफ बनाइए पनि उनलाई शमशेर खलकको षड्यन्त्रको छनक केही भइसकेको थियो । यसर्थ उनी कानको उपचारको बहाना बनाएर भारत गए । दाजु जगतजङ्गसँग बम्बईमा भेटे र उनले उतैबाट कमान्डर इन चिफबाट राजीनामा पनि दिए । यता यसको केही समयपछि श्री ३ रणोद्वीपले जगतजङ्गलाई भारतबाट बोलाए । सोचे– अब ठूलै पद दिनेछन् । तर, रणोद्वीपले धीरका सन्तानको डरले जगतजङ्गलाई पद दिनुको साटो घरमा नै नजरबन्दमा राखे । यसले गर्दा रणोद्वीप धीर सन्तानका पनि अप्रिय बने भने जङ्ग खलकका पनि अप्रिय बने ।
केही महिनाअगाडि नै ब्रिटिस सरकारको अनुरोधमा नेपालले दिल्लीमा हुने क्याम्प अफ एक्सरसाइजमा भाग लिने स्वीकृति पठाइसकेको थियो । यो परेड सन् १९८५ डिसेम्बर २६ देखि १९८६ जनवरी २६ तारिखसम्म (१६ पुस १९४२ देखि १६ माघ १६ सम्म) एक महिना लामो हुँदै थियो । यसमा भारतभरका सैनिक पल्टन, घोडचढी सैनिक, विभिन्न रेजिमेन्टसहित गरेर १४ घोडचढी सैनिक पल्टन, २६ पैदल रेजिमेन्टसहित ७ हजार सैनिक र २५ हजार आमन्त्रित सैनिकहरू जम्मा भएका थिए । तर, नेपालबाट जाने भनिएका सैनिकहरू भने पछि सैनिक विद्रोह भएपछि गएनन् ।
महाराजको हत्याको योजना
क्याम्प अफ एक्सरसाइजका लागि श्री ३ रणोद्वीपले केही दिनअगाडि मात्र गुरु पुरोहितसँगको छलफलमा वीर शमशेरको नेतृत्वमा ३ हजार सैनिक दिल्ली पठाउने तय गरिएको थियो । सैनिकहरू सबै तयार भएर टुँडिखेलमा पाल लगाएर बसिसकेका थिए । यता धीरका दाजुभाइ यही मौकामा ठूलो बुबा महाराजको हत्या गर्न सल्लाह गर्न थाले । वीर शमशेर केही हच्किइसकेका थिए, तर माहिला भाइ खड्गले हौस्याएपछि तयार भए । तत्कालै पण्डितसँग यसबारेमा सल्लाह पनि गरे ।
पण्डितले कात्तिक शुक्ल पूर्णिमा सोमबारको रात अर्थात् ९ मंसिर १९४२ आइतबार सबै कारणले उपयुक्त हुने र कार्य सफल हुने भनिएपछि कामको भागवण्डामा लागेका थिए । वीरले बिजुली गारत हेर्ने भए । चन्द्र अलि कमजोर र उनकी रानी गर्भवती भएको हुँदा गोली हान्न तयार भएनन् । तसर्थ खड्ग, डम्बर र भीम तीन जना दरबारभित्र प्रवेश गर्ने र गोली हान्ने तय भयो । तीन जनामध्ये डम्बर भित्रिनेतर्फका छोरा भएको हुँदा पहिलो गोली हान्ने जिम्मा दिइएको थियो । किनकि उनलाई ठूलोबुबालाई गोली हानेको पाप कम लाग्छ भन्ने आकलन थियो ।
यसरी गोली हान्न तयार भएका तीनै जनालाई वीर शमशेरले बाहत्ताको पापमोचनका लागि १-१ लाख दिने भयो । रण शमशेर अलि रक्स्याहा भएको हुँदा उनलाई हजुरिया जर्नेल ध्वजनरसिंहका साथ रक्सी पिउँदै हजुरिया जर्नेललाई भुलाइराख्ने जिम्मा दिइएको थियो । देव शमशेर रणवीर जङ्गलाई भुलाउन थापाथली दरबारमा अल्झिए ।
हत्या योजना सफल होस् भनेर भाकल
राति ८ बजेपछि निस्किएका वीर, खड्ग, चन्द्र, भीम र डम्बरले नारायणहिटीमा रहेको लक्ष्मीनारायण मन्दिरमा गएर कार्यसिद्धिका लागि भाकलसमेत गरे । दरबारभित्र श्री ३ रणोद्वीपको लङमा जानका लागि सहज थिएन । तसर्थ राजा पृथ्वी वीरविक्रम शाहकी कान्छी मुमा बागकी मैया, विष्णु दिव्येश्वरी देवीको मद्दतले दरबारभित्र छिरे । बडामहारानीको लङबाट श्री ३ महाराजको लङमा छिरे । ललित राज्येश्वरी देवी र बहिनी विष्णु दिव्येश्वरी देवी केही दिनका लागि हनुमानढोका राजदरबारबाट श्री ३ को दरबार नारायणहिटीतर्फ गएका थिए । यही मौकाको फाइदा उठाउँदै धीरका छोराहरूले श्री ३ महाराजको हत्या गरेर सत्ता खोस्ने दाउ गरेका थिए । ‘यो जिते हस्तिनापुरको राज नत्र चपरीको बास’ भनेझैँ थियो । यसमा जित हासिल भयो भने सत्ता हात लाग्थ्यो । श्री ३ महाराज भइन्थ्यो । हार भएमा मृत्यु वा सदाका लागि सर्वस्वसहित देशनिकाला हुन्थ्यो ।
बाग की मैयाँको सहयोगमा राति ९ बजे श्री ३ महाराजको लङमा पुगेपछि खड्गले महाराजको खोपीको ढोका ढकढक्याए । भित्र महाराज पेटको बल सुतेर सिरानी छातीमा राखेर रामनाम लेख्दै गरेका थिए । सँगै सुब्बा बलवान् सिंहले छापामा समाचार पढेर सुनाउँदै थिए । महिलाहरू पनि दायाँबायाँ थिए । यस्तैमा ढोका ढकढक्याएर एकैचोटि तीन भतिजाहरू हतियारसहित पसे । किन पसेको भनेर महाराजले सोध्नासाथ डम्बरले स्वास्नीको कमारा भई राजकाज गर्ने जोइटिङ्ग्रेलाई सजाय दिन आएको भन्दै पहिलो गोली हानिहाले । यो गोली चिउँडोमा लाग्यो । दोस्रो गोली खड्गले हाने । त्यो गोली सिधै छाती छेडेर गयो । तेस्रो गोली भीमले हाने । सो गोली भुँडीमा लाग्यो । केही बोल्न नपाउँदै महाराज लडे । भुँडी बाहिरियो, रगतको आहाल जम्यो । सुब्बा बलवान् सिंह थरथर काँपे । तीनै जनाले एकैचोटि सुब्बा बलवान्लाई पनि लास घिसार्न मद्दत मागे । चार जना मिलेर लास घिसार्दै भर्याङबाट तल गुल्ट्याए ।
गोलीको आवाजले बिजुली गारतमा रहेका सैनिक सतर्क भएका थिए । वीरले ‘महाराज बदली भइसक्यो, श्री ५ ले मलाई महाराज बक्स भइसक्यो’ भनेपछि बिजुली गारतका सैनिकहरू पनि चुप बसे । तलबाट लास घिसार्दै पटाङ्गिनी बाहिर ल्याएर सैनिकहरूलाई देखाए । तत्कालै श्री ५ महाराजाधिराजको गारत अफिसर नरवीर बस्नेतलाई वीर शमशेरले ‘महाराजको गाथमा दगा भएछ, तिमीहरू तत्कालै महाराजाधिराजको गाथको बचाउका लागि बग्गीको सुरक्षा गरेर हिँड’ भनेर लगाए ।
वीर शमशेर आफू र आफ्ना ससुरा उपेन्द्रविक्रम शाह बाहिर पर्खिएर बसे । बग्गीमा श्री ५ पृथ्वी वीरविक्रम, श्री ५ युवराज्ञी ललित राज्येश्वरी तथा बागकी मैयाँ विष्णु दिव्येश्वरी देवीलाई पनि चढ्न लगाए । महाराजाधिराजको गाथको सुरक्षाका लागि भन्दै उपेन्द्रको दरबार बागदरबारतर्फ पठाए । जसै महाराजाधिराजको सवारी बागदरबारतर्फ लाग्यो । उनले श्री ३ महाराजलाई रणवीरजङ्ग अर्थात् गोरा जर्नेलले दगा गरेको हल्ला फिँजाए । श्री ३ महाराजको हत्या गरेको हुँदा निजलाई पक्री ल्याउने वा शिर ल्याउनेलाई इनाम दिन लगाउने घोषणा गर्न तथा महाराजाधिराजको गाथको हिफाजतका लागि बागदरबार लगिएको जानकारी दिएका थिए । यता महाराजका हजुरिया जनरल ध्वजनरसिंह आए भने गोली हान्नू भन्ने आदेश दिएर आफू पनि श्री ३ को श्रीपेच र लालबाकस बोकेर चढे । बग्गी तुरन्तै बागदरबारतर्फ लाग्यो ।
नयाँ महाराज वीर शमशेर
१० वर्षका बालक महाराजाधिराज पृथ्वी वीरविक्रम शाहलाई वास्तविक कुरा जानकारी हुने कुरै भएन । बागदरबारमा दिल्ली जान तैनाथ चार पल्टन पहिले नै थियो । ती सैनिकहरूलाई दरबारको चारैतिरबाट पहरा दिन लगाइयो । तिनले राति नै महाराजाधिराज तथा वीर शमशेर बागदरबारमा पुगेपछि बागदरबारलाई चार पल्टनले चारैतिरबाट सुरक्षा दिए । यसरी आफू पूर्ण रूपमा सुरक्षित भएपछि राति नै धरहराबाट बिगुल फुकियो र तोपको सलामी पनि ठोकियो ।

तोपको आवाजले नयाँ महाराज भएको जानकारी भयो भने बिगुल फुकेपछि सबै अफिसरहरू बागदरबारतर्फ हाजिर हुने जनाउ पनि भयो । बागदरबार चार पल्टन सैनिकहरूले घेरिएको थियो । यसर्थ भित्र पस्न पाउँथे तर बाहिर निस्कन भने पाउँदैनथे । त्यसबेला कतिपय ठूला अफिसरहरूले कोतपर्वको कल्पना गरेका थिए । भित्र पसेका सबै विरोधीहरू काटिने अड्कलसमेत गरेका थिए । राति नै खड्गलाई श्री ३ महाराज भएका दाजु वीर शमशेरले काका, ठूलाबा सबैका छोरा, भतिजाहरू पक्री ल्याउनू भन्ने आदेश दिए । तर, खड्गले सबै गारतलाई जहाँ भेट्यो, त्यहीँ गोली हान्नू भन्ने आदेश दिए ।

जङ्ग खलकको काटमार
यता दिल्ली परेडमा जानेहरूमा परेका जङ्गका छोरा हर्षजङ्गले राति नै शमशेरहरूले महाराजको हत्या गरेको थाहा पाएका थिए । यसैले राति नै उनले घोडा लिएर आफ्ना दाजुभाइहरूलाई सूचित गरेका थिए । जेठो दाजु जगतजङ्गको मनहरा दरबारमा पनि पुगेका थिए । राति चिच्याएको पनि सुनेका थिए । तर, जगतजङ्गले मनहराको भूत कराएको भन्दै चुप लागेर बसे । बाँकी थाहा पाएकाहरू लैन (ब्रिटिस रेसिडेन्सी)मा शरण लिन पुगे । आफू भने नगद र सुनजवाहरात बोकेर मृगस्थलीको जङ्गलमा लुकी बसे । त्यहाँबाट लुकीछिपी पहाडको बाटो दार्जिलिङ पुगे ।
जङ्गबहादुरका जेठा छोरा जगतजङ्ग मनहरा दरबारमा नै एक किसिमको नजरबन्दमा थिए । त्यहीँ उनको गोली हानी हत्या गरियो । पद्मजङ्ग, रणवीरजङ्ग, केदारनरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजङ्ग, डम्बरजङ्ग, ललितजङ्ग लैनमा शरण लिन पुगिसकेका थिए । साथै, नरेन्द्रविक्रम शाह, मुमा महारानी तारा कुमारी तथा रणोद्वीपकी जेठी रानी हरिप्रिया देवी पनि लैनमा शरण लिन पुगिसकेका थिए । जगतजङ्गका छोरा र नाति जर्नेल जुद्धप्रतापजङ्ग पनि शरणका लागि लैन पुगे । तर, उनलाई काकाहरूले ‘खाली हात परदेशमा जान सकिँदैन, तसर्थ जे सक्छौ, दरबारबाट लिई आउनू’ भनेपछि फर्किएर दरबार पुगी सुन, रुपैयाँ, जवाहरातहरू बोकी आउँदा बाटोमा नै गोली हानियो ।
रातको हत्याहिंसापछि भोलिपल्टदेखि उपत्यकामा सैनिक शासन सुरु भयो । चारैतिर सुनसान थियो । मानिसहरू हिँडडुल गर्न बन्देज लगाइएको थियो । पसलहरू सबै बन्द थिए । एक किसिमको कर्फ्युजस्तै थियो सिङ्गो उपत्यका ।
बिहानै महाराजाधिराजबाट वीर शमशेरलाई कास्की र लमजुङका श्री ३ महाराजको पदवीका साथ प्रधानमन्त्री र प्रधानसेनापतिको पद पनि दिए । साथै, नेपाल अधिराज्यको सम्पूर्ण अधिकारसहितको लालमोहर पनि गरिदिए । आफू श्री ३ महाराज भएको केही दिनमा नै वीरले शमशेर राणाहरूको नयाँ रोलक्रम बनाए । रोलक्रमअनुसार आफूपछि श्री ३ हुने पालोमा आफ्ना सोह्र भाइहरू ल्याइते तथा ब्याइते सबै उमेरअनुसार क्रमैसँग डम्बर, खड्ग, रण, देव, चन्द्र, भीम, फत्ये, ललित, जीत, पूर्ण, यदु, दुर्गा, शेर, जुद्ध, खम्ब र हर्ष शमशेरलाई श्री ३ बन्ने पालोमा राखिदिए । यसपछि आफ्ना छोराहरूको पालो राखे । आफ्ना भाइहरूको सहयोगमा शमशेर खलकले सत्ता प्राप्त गरेको तथा आफू श्री ३ महाराज हुन पाएको हुँदा सत्र भाइलाई नै ल्याइते वा ब्याइते नछुट्याई उमेरका हिसाबले रोलक्रममा राखेका थिए ।
ब्रिटिस रेसिडेन्सीमा शरण लिएकाहरूसँग वार्ता गर्न खड्ग शमशेरलाई जिम्मा लगाइयो । सबैले राजनीतिक भूमिका वहन नगर्ने र आमजनतासरह बस्न लिखित सहमति दिएमा वीर शमशेरले रहने व्यवस्था मिलाइदिने प्रस्ताव राखे । यो प्रस्ताव केवल पद्मजङ्गले मात्र स्वीकार गरे । अन्यले ब्रिटिस रेसिडेन्सीको सुरक्षा घेरामा रही भारत जाने इच्छा राखे, जसअनुसार ब्रिटिस रेसिडेन्सीले सुरक्षित भारतसम्म पुर्याइदियो ।

रणोद्वीपको सम्पत्तिमा वीरको रजाइँ
श्री ३ महाराज रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीर शमशेरले नि:सन्तान रणोद्वीपको सम्पूर्ण सम्पत्ति आफ्नो बनाए, जसमा श्री ३ को दरबार रहेको नारायणहिटी दरबार र सम्पूर्ण जग्गाका साथसाथै ३६ लाख रुपैयाँ मूल्यबराबरका सुन, चाँदी तथा सिक्काहरू थिए । २ लाख ५० हजार रुपैयाँबराबरको शिरमा लाउने ताजहरू तथा श्रीपेच थिए । ७२ हजार रुपैयाँबराबरका घाँटीमा लगाउने जवाहरात थिए । २२ हजार मूल्यका दुई हातमा लगाउने हीराजडित चुरा थिए । २१ हजार मूल्यबराबरको हीराजडित नेक्लेस थियो । विभिन्न पत्थरजडित औँठीहरू १५ हजार ५ सय रुपैयाँबराबरका थिए । साथै, अन्य जवाहरातहरू १ लाख ९२ हजार रुपैयाँबराबरका थिए । १७० जनालाई खुवाउन मिल्ने चाँदीको थाल, कटौरा, गिलास, चम्चा गरी करिब २ लाख मूल्य बराबरका चाँदीका भाँडा थिए ।
जनावरहरूमा १०० वटा हात्ती, आठवटा अरबी घोडा, ३५ वटा उच्च जातका घोडा, १९ वटा तालिमप्राप्त सिकारी कुकुर, ६० वटा अस्ट्रेलियन दुधालु गाई, ३५ वटा भैँसी तथा ८ हजार भेडाबाख्रा थिए । साथै, १९ लाख रुपैयाँबराबरका खुला जग्गा तथा बागबगैँचाहरू पनि थिए ।
अंग्रेज सरकारको स्वार्थ
तर, आफ्नै ठूलो बुबा श्री ३ महाराज रणोद्वीपको हत्या गरी सत्तामा पुगेको हुँदा वीर शमशेरको शासनलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिएको थिएन । दोस्रो, जङ्गबहादुरका छोराहरू ब्रिटिस रेसिडेन्सीमा शरण लिएर भारत पुगेपछि भारतमा रहेका भाइसराय तथा अन्य अफिसरहरूलाई पनि शमशेर खलकले क्रूर किसिमले सत्ता लिएका प्रमाणहरू पेस गरेका थिए । तर, सधैँजसो बाठो हुने अंग्रेजहरू यसपटक पनि आफ्नो स्वार्थका चाल चल्नतिर लागे ।

आफूले चाहेको कुरा पूरा भएमा वीर शमशेरको सरकारको समर्थन गर्ने अन्यथा गर्न नसक्ने कूटनीतिक दबाब दिन थाले । जसमध्ये प्रमुख थियो- गोरखा भर्ती केन्द्र काठमाडौंमा खोल्ने र रिक्रुटको संख्या बढाउने थियो । दोस्रो प्रस्ताव ब्रिटिसहरूलाई खुला रूपमा नेपाल भित्र जान पाउने । साथमा बेलायतीहरूलाई नेपालमा खुला रूपमा व्यापार गर्न पाउने छुट माग्न पनि खोजेका थिए । तर पछि भाइसरायले यसलाई हटाउन लगाए ।
यसका साथै जङ्गबहादुरप्रति अगाध आस्था रहेको तथा आफूहरू नै सच्चा जङ्गका सन्तति भएको पुस्ट्याउन शमशेर खलकले त्यसैबेलादेखि नामका पछाडि जङ्गबहादुर राणा राख्न थालेका हुन् । यतिले नपुगेर वीर शमशेरले जङ्गका वास्तविक सन्ततिले नामको पछाडि जङ्गबहादुर राख्न नपाउनेसमेत उर्दी जारी गरेका थिए । जङ्गका वास्तविक सन्ततिले वीर शमशेरको शासनकालपछि मात्र यदाकदा जङ्गबहादुर लेख्न थालेका थिए ।
नेपाल सरकार केही कुराहरूमा खुकुलो भएको जानकारी दिइएपछि दुई महिनापछि बल्ल अंग्रेज सरकारले वीर शमशेरको सरकारलाई मान्यता दियो । भारतमा शरण लिएर बसेका जङ्गका सन्ततिहरूमा जितजङ्गले कूटनीतिक प्रयासहरू थाले भने रणवीरजङ्गले वीर शमशेरविरुद्ध युद्धको तैयारी नै गरे । पूर्वमा छिटपुट र पाल्पामा आक्रमण प्रयास भए पनि सफलता हात लाग्न सकेन ।
बनारस प्रवासमा रहेका रणवीरजङ्ग अलि गँजडी थिए । यही थाहा पाएका वीरले एक जोगीमार्फत गाँजामा विष मिसाएर तान्न लगाई हत्या गरे । पतिको मृत्युपछि छोराका साथ बनारसको अस्सीघाटमा दु:खकष्टका साथ बसेकी बिधवा रानी चिनियाँकुमारीले जुद्ध शमशेर श्री ३ हुने समय बिन्तीपत्र चढाएकी थिइन् । १९९७ सालमा चिनियाँकुमारीलाई आर्थिक सहयोगसमेत पठाएका जुद्धले नै पोखरामा बस्ने व्यवस्था मिलाइदिएपछि छोरा केशववीर जङ्गका साथ चिनियाँकुमारी पोखरा आइपुगेकी थिइन् । पोखरामा २००५ सालमा चिनियाँकुमारीको देहावसान भयो । अहिले पनि रणवीरजङ्गका सन्ततिहरू पोखरामा छन् । भागेर दार्जिलिङ गएका हर्षजङ्गका सन्तति पनि अहिले पोखरामा नै छन् ।

कान्छा बडामहारानी टोपकुमारीको स्वार्थको खेल
यसरी सत्तामा पुगेको केही समयपछि ल्याइते आफ्नी प्रिय कान्छी रानी टोपकुमारी देवीलाई जज्ञमा राखेर विवाह गरी ब्याइते बनाएर श्री ३ कान्छा बडामहारानीमा पदोन्नति गरिदिए । यसपछि कान्छा बडामहारानीबाट आफूतिरका छोराहरू रुद्र शमशेर, तेज शमशेर, प्रताप शमशेरलाई पनि रोलक्रममा राख्न दबाब दिन थाले । यसरी प्रिय रानी कान्छा बडामहारानीको कारणले खड्ग शमशेरमाथि आफ्नो हत्या गरी सत्ता लिन खोजेको आरोप लाग्यो, जसले गर्दा खड्ग शमशेरको कमान्डर इन चिफ खोसियो र सर्वस्वसहित कठोर सजायमा ठाडा पठाइए ।
खड्गलाई रोलक्रमबाट हटाइएपछि आफ्ना छोराहरूको पदोन्नति गर्दै रोलक्रममा राखे । यस कार्यको ल्याइतेतर्फका भाइ डम्बरले विरोध गरे । यसरी भाइबाट विरोध आएपछि उनलाई पनि रोलक्रममा रहेको हजुरिया जर्नेलबाट हटाइयो । डम्बर शमशेर नेपालको पहिलो फोटोग्राफर तथा सोखिन कलाप्रेमी पनि थिए । उनले १९५० तिर नारायणहिटी दरबारभित्र पहिलो नाटकघर रोयल इम्पेरियल ओपेरा हाउससमेत बनाएका थिए । वीर शमशेरले रोलक्रमबाट बाध्य भएर हटाइएका कारण उनलाई सामाजिक काममा विशेष छुट दिएका थिए । वीर शमशेरको शासनकालमा पछि कुनै उच्च पद नपाए पनि श्री ३ चन्द्रको शासनकालमा उनलाई लेफ्टिनेन्ट जनरल बनाइएको थियो । लेफ्टिनेन्ट जनरलकै रूपमा उनको १९७९ सालको जेठमा निधन भएको थियो ।
रोलक्रममा दोस्रो नम्बरमा रहेका रण शमशेरको पनि अत्यधिक मदिरापानले गर्दा १९४४ साल जेठमा निधन भयो, जसले गर्दा देव शमशेर प्रधान सेनापति बने र रोलक्रममा दोस्रो नम्बरमा पुगे । वीर शमशेरको निधन पछि श्री ३ बनेका देवलाई भने भाइ चन्द्र शमशेरले लामो समय सत्तामा रहन दिएनन् । पद खोसेर सर्वस्वहरण गरी देवलाई धनकुटा पठाइयो । यसरी चन्द्र शमशेर श्री ३ महाराज बने ।









प्रतिक्रिया