शनिबार, पुष ५, २०८२

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीनवटा पोखरी निर्माण

नेपालखोज २०८२ मंसिर ९ गते ८:२३

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ ।

पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताए । पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उनको भनाइ छ ।

सडकको राम्रो पहुँच रहेकाले सिँचाइ पोखरी निर्माणले स्थानीयलाई नगदेबाली खेतीका लागि सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । सिँचाइ विस्तार भएपछि यहाँका किसानले कृषिकर्म गरेर आयआर्जनमा जोडिने अवस्था बनेको उनको भनाइ छ ।

गाउँपालिकाभित्र रहेको कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारमा जोड दिएको उपाध्यक्ष राईले बताउनुभयो । सिँचाइका लागि मुहान नभएको ठाउँमा प्लाष्टिक पोखरी वितरण गरेर पनि किसानलाई आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

पोखरी निर्माणले स्थानीयलाई तरकारीखेती गर्नका लागि सहजता भएको स्थानीयवासी भरतबहादुर कार्कीले बताए । पोखरीको पानी प्रयोग गरेर आफूले तरकारी तथा नगदेबालीको खेती गरिरहेको उनको भनाइ छ । -रासस

प्रतिक्रिया