गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

काठमाडौं । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा तीनदिने प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले क्यामेराको लेन्सबाट गण्डकीका गन्तव्यहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै तालिम सहभागी पत्रकारालाई नेपालको पर्यटकीय राजधानी पोखरामा स्वागत गरेका छन् ।
बोर्डको गण्डकी प्रदेश कार्यालय प्रमुख लामिछानले यूएनडीपीले विगतदेखि नै नेपालको दिगो पर्यटन विकासका लागि सहकार्य गरिरहेको समेत उल्लेख गरेका छन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।
त्यसैगरी यूएनडीपी गण्डकी तथा लुम्बिनी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले पर्यटनका सम्भावनाहरू पहाडदेखि हिमालसम्म फैलिएको भन्दै पत्रकारको भूमिका अझ निर्णायक बन्दै गएको बताए । अर्यालले बोर्ड र यूएनडिपीको दिगो पर्यटन परियोजनाले पीपुल, प्लानेछ, पिस, पोरेसपेरिटी र पार्टनसिप मोडलमा समुदाय, प्रकृति र बजारलाई जोडेर दीगो पर्यटन विकासका गतिविधि अघि बढाइरहेको उल्लेख गरेका छन् ।
दीगो पर्यटन परियोजनाका निर्देशक धर्मराज दवाडीले यो प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशका ओझेलमा पर्यटकीय गन्तव्य, भाषा, संस्कृती र प्रकृतीका कथालाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुने हामीले विश्वास लिएका छौं । नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् ।
तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक प्रकाशचन्द्र तिमिल्सेनाले फोटो फिचर कसरी तयार गर्ने, तस्बिर कथाको महत्वलगायतका विषयमा प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणका क्रममा दोस्रो दिन तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट गराइने भएको छ । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, बागलुङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङलगायतका विभिन्न जिल्लाबाट आएका करीब ३० जना पत्रकार सहभागी छन् । यस प्रशिक्षणले गण्डकी प्रदेशका नयाँ गन्तव्यहरुको पर्यटन प्रवद्र्धन, दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया