शनिबार, पुष ५, २०८२

चुच्चे नक्सा भएको एक सय रुपैयाँको नोट चलनचल्तीमा

नेपालखोज २०८२ मंसिर ११ गते १४:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही मङ्सिर ११ गते अर्थात् आज बिहीबारबाट चुच्चे नक्सा भएको एक सय रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त नोट प्रचलनमा ल्याएको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार १०० दरको साबिककै आकार तथा रङमा सङ्केत नं. क/२० ०००००१ देखि घ/४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट प्रचलनमा ल्याएको हो ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटको मध्य भागमा नेपालको नक्सा रहेको, नोटको मध्य भागमा अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको विशेषता सहितको नोट चलनचल्तीमा ल्याएको हो ।

यसको साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमामायादेवीको चित्र रहेको, २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा ’वि.सं. २०८१’ लेखिएको विशेषता रहेको छ ।

यसै गरी नोटको पृष्ठभागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा एक सीङे गैँडाको माउ र बच्चाको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा रुपिज वान हन्डेड लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अङ्ग्रेजीमा ’२०२४ ए.डी ’ लेखिएको विशेषता रहेको छ ।

प्रतिक्रिया