वीरगञ्ज महानगरद्वारा चालु आवको चार महिनामा २१ करोड तीन लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड तीन लाख ९६ हजार ४०८ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ सात करोड ५६ लाख रकम सङ्कलन गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे ‘महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन,’ उनले भने, ‘यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।’
महानगरले चालु आवको चार महिनामा भूमिगत/मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने रु दुई करोड राजस्व सङ्कलन गरेको छ ।
अखेटोपहारमा लाग्ने करतर्फ भने पाँच करोड १० लाख राजस्व सङ्कलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने एक करोड ४९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।








प्रतिक्रिया