सोमबार, मंसिर २२, २०८२

दश देशका कलाकारका चित्रकला प्रदर्शन

नेपालखोज २०८२ मंसिर १५ गते १५:१४

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरु प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका कलाहरु संस्कृति तथा सम्पदामा केन्द्रित छन् ।

कलामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताउनुभयो । उक्त प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कलाहरु प्रदर्शनीमा राखिएका छन् ।

‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गरेका कलाकार उत्तम डङ्गोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भरेका छन् । पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उनले चित्र सिर्जना गरेका छन् ।

उनले भने, पशुपतिमा देखिने विषयहरु हनुमान, भैरव, नाग देवता, गणेशलाई ‘फोकस’ गरेको छु, हिजोको लोक कलालाई क्यान्भासमा रुपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, ‘एक्रेलिक’ माध्यममा ‘वाटरप्रुफ’ कलामा सम्पदालाई देखाएको हुँ ।

तेल रङ्गमा कला प्रस्तुत गरेकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौंलाई झल्काएका छन् । महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुराना संस्कृति गाउँ र परम्परालाई उनले देखाएका छन् । उनले भने, परम्परागत कलामा प्रायः मानिसहरुले घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर पुरानो जुन हराएको संस्कृतिलाई उठान गरेकी छु ।

उक्त कलाको संयोजन गरेकी कलाकार सुष्माराज भण्डारीले गणेशको सिरिज प्रस्तुत गरेका छन् । उनले पनि उक्त प्रदर्शनीमा गणेशको चित्रलाई क्यान्भासमा उतारेका छन् । उनको चित्र एक लाखमा बिक्रीसमेत भइरहेको छ । अन्य पाँच/छवटा चित्रहरु बिक्री भएको पनि उनले बताए ।

नेपालसहित भारत, बङ्गलादेश, घाना, बेलायत, अमेरिका, जापान, रसिया, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन् । १५ वटा विदेशी कलाकारका चित्रकला यहाँ राखिएका छन् ।

नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डङ्गोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ ।

प्रतिक्रिया