चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

नेपालखोज २०८२ मंसिर १५ गते १८:२०

वेनचाङ, हैनान । दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले आइतबार नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

लङ मार्च–७ रकेटले ‘शिजियान–२८ उपग्रह’ बोकेर सन् २०२५ नोभेम्बर ३० का दिन साँझ ८:२० बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको हो ।

‘शिजियान–२८ उपग्रह’ चीनद्वारा विकसित गरिएको एक प्रायोगिक तथा प्राविधिक परीक्षण गर्ने प्रकारको उपग्रह हो, जसको मुख्य उद्देश्य नयाँ अन्तरिक्ष प्रविधि, उपकरण, संचार प्रणाली र वैज्ञानिक उपकरणहरूको कार्यक्षमता जाँच्ने तथा सुधार गर्ने हो ।

यस उपग्रहलाई उन्नत परीक्षण प्लेटफर्मका रूपमा प्रयोग गरिन्छ, जहाँ भविष्यका ठूला अन्तरिक्ष परियोजनामा आवश्यक तकनीकहरू (जस्तै उर्जाको दक्षता, डाटा सञ्चार र सेन्सरहरूको कार्य परीक्षण—गरिन्छ।)

उपग्रहले प्रक्षेपणपछि आफ्नो पूर्वनिर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको चीनले जानकारी दिएको छ । यससँगै लङ मार्च श्रृंखलाका वाहक रकेटको यो ६११औँ उडान मिशन भएको पनि सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया