पोखरामा आईटीएफ टेनिस सुरु, १६ देशका ८० खेलाडी प्रतिस्पर्धा गर्दै

नेपालखोज २०८२ मंसिर १५ गते १९:३३

कास्की । पर्यटकन राजधानी पोखरामा आजदेखि ‘आईटीएफ जे ३० टेनिस’ को प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा सुरु प्रतियोगिता अन्तरराष्ट्रिय टेनिस महासङ्घद्वारा स्वीकृतप्राप्त ‘आइटिएफ जे ३० टेनिस टुर पोखरा’को आठौँ संस्करण हो ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता छ ।

जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश र क्यानाडका खेलाडी सहभागी छन् ।

यसैगरी अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीहरुले समेत उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ अङ्क, क्वाटरफाइनालिष्टले पाँँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।

त्यस्तै ‘डबल्स’मा विजेताले २५ अङ्क उपविजेताले १३ अङ्क, सेमिफाइनालिष्टले छ अङ्क, क्वाटरफाइनालिष्टले तीन अङ्क प्राप्त गर्ने प्रतियोगिता संयोजक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा ‘ब्वाइज सिङ्गल्स’ तथा ‘डबल्स’÷‘गल्र्स सिङ्गल्स तथा डबल्स’ गरी चार विधामा सञ्चालन हुनेछन् ।

जसमा बिजेता तथा उप–विजेताले प्रमाणपत्रसहित पदक प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको उल्लेख गरे । आयोजक कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरूङले आठौँ सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितिमा समेत १६ देशका खेलाडीहरुको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गरे । कास्की टेनिसका सचिव भीष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडीहरु उत्साहित रहेको उल्लेख गरे ।

प्रतिक्रिया