बुधबार, पुष २, २०८२

अनिल शाह भन्छन्- जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ

नेपालखोज २०८२ मंसिर १६ गते १९:०६

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएर संकटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पार्‍यो ।

जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै अंक तालिकामा खाता खोल्दै दुई अंक पनि जोड्यो । यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा बढेको छ ।

बाँकी रहेका दुई खेलमा फराकिलो जित निकालेर मात्रै त्यो सम्भावना रहने मात्र नभई जनकपुरले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ ।

आजको जितमा अनिल साह ‘म्याच विनर’ बने । ६१ रन बनाउनुका साथै एक विकेट पनि लिएका अनिल ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा साहले ‘प्लेअफ’को सम्भावना बाँकी रहेको बताए ।

‘अझै दुई खेल बाँकी छन् । ती खेल जितेर प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छौँ ।  लगातारको हारले टोलीको मनोबल खस्किएको भए पनि आजको जितले आगामी खेलमा सहज हुनेछ’, उनले भने, ‘पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महसुस गरेको थिएँ । आज टिम ब्याक गर्दा रन पनि निस्किनु मेरो लागि खुसीको क्षण हो ।’ -रासस

प्रतिक्रिया