ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो ।
विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन् ।
अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ ।
अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन् । काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपालले बताए ।
देशविदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३ दशमलव पाँच रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवालले बताए । स्थानीयसँग रकम सङ्कलन गरेर जग्गा खरिद गरिएको उनको भनाइ छ ।
गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटकपटक समन्वय गरे पनि निर्माण कम्पनी सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । ठेकेदारले लामो समयदेखि काम अपलत्र पारेकाले गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उहाँले जानकारी दिर्ए ।






प्रतिक्रिया