बुधबार, पुष २, २०८२

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

नेपालखोज २०८२ मंसिर १८ गते १६:२७

पाटन (ललितपुर) । बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो ।

योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधारण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भीडभाडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बङगलामुखी मन्दिर परिसर पुगे ।

मन्त्री आउनेबारे स्थानीय जनप्रतिनिधिलाई कुनै जानकारी थिएन । अकस्मात मन्त्री बङ्गलामुखी क्षेत्रमा आएपछि सर्वसाधारण र जनप्रतिनिधिसमेत अच्चम्मित भए । आफ्नै टोल र चोकमा आइपुग्नुभएका मन्त्रीसँग समस्या, पीडा र अपेक्षाहरु प्रत्यक्ष राख्न पाउँदा उनीहरु प्रफुल्लित भए ।

बङ्गलामुखी क्षेत्रको गुठीमा योमरी पुन्हीको परिकार पकाउने काममा व्यस्त स्थानीय रेणु महर्जनले एक्कासी सञ्चारमन्त्री देखेपछि दङ्ग भए । काम गरिरहेकै स्थानमा मन्त्री आएर कुराकानी गर्दा महर्जनको मुहारमा खुसी देखिन्थ्यो । ‘मन्त्रीलाई प्रत्यक्ष भेट्न पाउँदा असाध्यै खुसी लागेको छ । यसरी कोही पनि मन्त्री आएका थिएनन्’, महर्जनले भने । सँगै काम गरिरहेकी सन्तु महर्जनलाई पनि मन्त्री भेट्दा पाउँदा औधी खुसी थिए ।

सिँढीमा घाम तापिरहनुभएका ८७ वर्षीय बाबुलाल महर्जनले मन्त्रीलाई आफ्नै घरमा भेटेर मन्त्रीसँग भलाकुसरी गर्न पाउँदा अनौठो लागेको बताए । पहिला मन्त्रीहरु ठूलो पल्टिएर हिँड्ने गरेको अनुभव सुनाउँदै स्थानीय महेन्द्र महर्जनले यसरी मन्त्री घरघरै आएर जनतासँग भलाकुसारी गर्दा खुसी लागेको बताए ।

नागरिक सरकारसँँग केही माग मात्रै गर्न खोजिरहेका हुँदैनन् बरु उनीहरुसँग समाधानका सुझाव हुन्छन् भन्दै ती सुझाव सुन्ने साहस र समय सरकारसँग हुनुपर्ने उनको भनाइ छ ।

सञ्चारमन्त्री खरेलले मन्दिर दर्शनपछि स्थानीय समुदायसँग साक्षात्कार गर्नुभएको हो । उहाँले वडा ११ को कार्यालयमा जनप्रतिनिधि र सर्वसाधारणसँग सरकारले गर्नुपर्ने दायित्वबारे सुझाव लिए । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान नागरिक सरकारले नागरिककै मुद्दा, सुझाव र सरकारले गर्नुपर्ने दायित्वका बारेमा सरकार जनताको घरदैलोमा पुगिरहेको छ ।

ललितपुर महानगरपालिका-११ का कार्यवाहक वडाध्यक्ष जुवन तण्डुकारले सङ्घीय मन्त्रीले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग साक्षात्कार गरेर जनताको नजरमा उदाहरणीय कार्य गर्नुभएको उल्लेख गरे । उनले बङ्गलामुखी क्षेत्रको सडक गल्लीको तार व्यवस्थापन र सञ्चार सेवालाई प्रभावकारी बनाउन सञ्चारमन्त्रीसमक्ष माग गरे । वडा सदस्य सचिना परियारले जनताको घरदैलोमा पुगेर मन्त्रीले जनताको गुनासो सुन्ने र सुझाव ग्रहण गर्नु प्रसंशनीय कार्य भएको बताए ।

ललितपुर मात्र नभइ देशभरका टोल–छिमेक र समुदायमा पुगेर नागरिकका आवाज सुन्नु र तिनलाई नीतिमा रुपान्तरण गर्नु नै सरकारको दायित्व भएको मन्त्री खरेलले बताए ।

प्रतिक्रिया