लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’मा मुख्यमन्त्री शाहले जनतालाई सुसूचित गराउन, एकतामा बाध्न सञ्चारमाध्यमको योगदान रहेको धारणा राखे । जनतालाई स्वतन्त्र बनाउन, अधिकार सम्पन्न बनाउन यो क्षेत्रको ठूलो भूमिका छ, उनले भने, यस अर्थमा हामीले समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीको सम्मान गर्नुपर्छ ।
जुनसुकै राजनीतिक आस्था, सैद्धान्तिक विचार, सिद्धान्त अवलम्बन गरे पनि लोकतन्त्रलाई स्थापित गराउँदै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन र विकास गर्न गर्ने सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान रहेको मुख्यमन्त्री शाहले उल्लेख गरे ।
केही दिनअघि मात्र सुदूरपश्चिमका सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि प्रदेश राजधानी फर्केका मुख्यमन्त्री शाहले पहाडको जनजीवन, दैनिकी, समस्यालगायत त्यहाँका नागरिकको वास्तविक अवस्था बुझ्न भ्रमण उपलब्धिमूलक रहेको धारणा राखे । उनले दुर्गम क्षेत्रका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा नजिकबाट अनुभव गर्न गाउँगाउँ पुगेको जानकारी दिए ।
प्रदेश सरकारको लगानीमा अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको मुख्यमन्त्री शाहले बताए । प्रदेश संरचनाका बारेमा केही भ्रम सृजना भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको संरक्षणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुनु भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि कलम चलाउन आग्रह गरे ।








प्रतिक्रिया