मंगलबार, पुष १, २०८२

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

नेपालखोज २०८२ मंसिर २० गते ८:११

अदानचुली (हुम्ला) । वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्दद्वारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुबै विद्युत् सरचना मर्मतको तयारी थालिएको छ । हाल टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो विद्युत पहुँचमा पुर्याउन पहल भइरहेको छ ।

वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक टोली मर्मतका लागि लागत अनुमान गर्न अदानचुली पुगेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताए ।

गत वर्ष बाढीका कारण मुहानसहित विद्युत् गृह बगाएको अदानचुली–३ गोरपालीमा रहेको छहराखेत लघु जलविद्युत् आयोजनाको विद्युत् गृह अर्काे ठाउँमा बनाउनुपर्ने भएको छ ।

बाढीले बगाएर बगर बनाएको विद्युत् गृह पहिलेको भन्दा केही टाढा बनाउनुपर्ने वैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रका इन्जिनियर राजन थापा क्षेत्रीले बताए ।

यस्तै अदानचुली–४ कुकुरफाल्ना लघु जलविद्युत् आयोजनाको अरु सबै संरचना राम्रो भए पनि मुललाई नै अर्को ठाउँमा सार्नुपर्ने तथा विद्युत् गृहको केही भाग मर्मत गर्नुपर्ने देखिएको छ ।

विद्युत्काे पहुँचभन्दा बाहिर रहेको अदानचुली गाउँपालिकामा लागत अनुमानको निरीक्षणपछि प्रवद्र्धन केन्द्रले छिट्टै काम अगाडि बढाउने र छहराखेत विद्युत््को विद्युत् गृह फरक ठाउँमा सार्नुपर्ने छ ।

दुवै आयोजनाको लगानीबारे एकिन भएपछि बैकल्पीक ऊर्जा प्रवद्र्धन केन्द्रले दीर्घकालीन ऊर्जा सुरक्षाको आधार निर्माण गरेर काम थाल्ने गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।

जिल्लाका सबै गाउँपालिकामा विद्युत्् पहँच भए पनि अदानचुली गाउँपालिकामा नहुँदा टुकीको साहारामा बस्नुपरिरहेको छ । प्रवद्र्धन केन्द्र र अदानचुली गाउँपालिकाको लगानीमा दुवैको मर्मत सुरु गरिने छ । –रासस

प्रतिक्रिया