रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

नेपालखोज २०८२ मंसिर २० गते १३:३३

राँझा (बाँके) । रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए ।

निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले माटोमा क्षारीयपन बढी रहेको पाइएकाले माटोको उर्भरशक्ति कमजोर बन्दै गएको उनको भनाइ छ । माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत कम देखिएको जनाउँदै उनले यसले उत्पादनमा ह्रास आउने उल्लेख गरे ।

प्राङ्गारिक मलको विकल्पमा किसानले रासायनिक मलको प्रयोग गर्दा उत्पादन घट्नुका साथै माटोको सन्तुलनमा नकारात्मक असर पर्दै गएको प्रयोगशालाका प्रमुख आशीष पाठकले बताउनुभयो । खेतबारीमा पराल जलाउने, रोटाभेटरको प्रयोग गर्ने, प्राङ्गारिक मलको प्रयोग नगरी रासायनिक मल असन्तुलित रूपमा प्रयोग गर्नाले माटोको अवस्था बिग्रिँदै गएर उत्पादकत्व कम हुँदै गएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा विनोद घिमिरेले माटोको अवस्था सुधार नगरे आगामी पुस्ताले प्राङ्गारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढ्दै गएको बताए । जिल्लामा माटो परीक्षण निःशुल्क शिविर सञ्चालन गरी गरिएको भए पनि किसानमा उत्साह नदेखिएकाले सचेतना जगाउन आवश्यक रहेकामा उनले जोड दिए ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञवालीले बिग्रेको माटोमा रासायनिक मल हालेर मात्रै उत्पादन शक्ति नबढ्ने भएकाले प्राङ्गारिक पदार्थको मात्रा बढाउन जरुरी रहेको बताए । उनका अनुसार यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाइएको छ ।

यस्तो अवस्थामा अनावश्यक रूपमा रासायनिक मल खेतमा प्रयोग गरिँदा माटोमा रहेका ती तत्वको सन्तुलन बिग्रिएर उत्पादकत्व क्षमता कमजोर हुँदै जाने उनले उल्लेख गरे ।

प्रतिक्रिया