मंगलबार, पुष १, २०८२

मध्य म्यानमारमा भएको हवाई आक्रमणमा १८ जनाको मृत्यु

नेपालखोज २०८२ मंसिर २० गते २०:१३

तबाइन, म्यानमार । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन्। घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् ।

सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत् सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कु’ विरोधी लडाकुहरूसँगको लडाँइका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो । उनले एएफपीसँग भने, ‘आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।’ ‘चिया पसलमा भीडभाड भएको समयमा आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो,’ उनले भने ।

एएफपीसँग सूचनाका लागि बोलेका सबै स्रोतहरूले आफ्नो सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरेका छन् । आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले भने, ‘आक्रमणका कारण सात जनाको घटनास्थलमै र अन्य ११ जनाको पछि अस्पतालमा मृत्यु भएको थियो ।’

उनले भने, ‘म्यानमारमा चिया पसललाई एक परम्परागत सामाजिक केन्द्रका रूपमा भेला हुने थलो र चिया पिउने स्थानका रूपमा लिइन्छ । आक्रमणबाट चिया पसल र नजिकैका करिब एक दर्जन घरहरूमा क्षति पुगेको छ।’ हवाई आक्रमण समय घटनास्थलमा नै रहेका तर बाँच्न सफल एक व्यक्तिले बम विस्फोट हुँदा उनी चिया पसलमा टेलिभिजनमा बक्सिङ खेल हेरिरहेका थिए । ‘मैले हवाईजहाज माथिबाट उडेको सुनेँको लगत्तै म भुइँमा लडेँ,’ उनले भने ।

‘विस्फोटको आवाज कान नै बहिरो पार्ने खालको निकै चर्को थियो,तर मलाई थाहा छैन म कसरी बाँच्न सफल भएँ,” उनले भने । उनले भने, ‘मैले मेरो टाउकोमाथि ठूलो आगोको लप्को देखेँ । तुरून्तै ठूलो आवाजसहित विस्फोट भयो । म होसमा आउँदा वरपर धेरै रगत देखिन्थ्यो । मैले धेरै मानिसहरूको मृत्यु भएको जानकारी पाएँ । म भने भाग्यमानी थिएँ, म त्यसपछि घर फर्किएँ।’

म्यान्मामा सेनाप्रति बफादार जुन्टा सरकारका एक प्रवक्तासँग यस बिषयमा कुरा गर्ने एएफपीको प्रयास सफल हुन नसकेको एएफपीका संवाददाताले जानकारी दिएका छन् । स्थानीय एक बासिन्दाले भने, ‘विनाशकारी भूकम्प गएपछि घोषणा गरिएको कथित युद्धविरामका बाबजुद मे महिनामा सागाइङमा भएको जुन्टाको हवाई हमलामा मारिएकाहरूको शनिबार अन्त्येष्टि गरिएको छ । यसमा केही पीडितहरूको अनुहार छेदविच्छेद् अवस्थामा देखिन्थ्यो । ‘मलाई धेरै दुःख लागेको छ किनभने म तिनीहरूमध्ये केहीलाई राम्ररी चिन्थें,’ उनले भने । म्यानमारमा विनाशकारी भूकम्प गएपछि कथित युद्धविरामको घोषणा गरिएपनि मे महिनामा सागाइङमा भएको सैन्य शासकको हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो । –रासस/एएफपी

प्रतिक्रिया