अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित नागार्जुन नगरपालिका–६ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित साबिर गाडी ग्यारेजबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ किलोग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–४ बस्ने २९ वर्षीय ईन्द्र लिम्बु, सहिदभूमी गाउँपालिका–४ बस्ने २५ वर्षीय जिपसन लिम्बु र भारत घर भएका २६ वर्षीय साबिर आलम रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त ग्यारेजमा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी ग्यारेज संचालक साबिर समेत तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१ ज २०१८ नम्बरको बोलेरो पिकअप समेत बरामद गरेको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१५ पिण्डेश्वरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय भलराम श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले को.३५ प १८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाहीको हरिवन नगरपालिका–५ हिरालाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ५१ किलो ५ सय ग्राम सहित रौतहट यमुनामाई गाउँपालिका–४ सरूअठा टोल बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ज.१ च १५५८ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा पछाडिको भागमा २ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक यादवलाई पक्राउ गरेको हो ।
रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपलिका–२ मेउडिहवा बस्ने २० वर्षीय सुभान केबट समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ८० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका–७ उढरा बस्ने २५ वर्षीय तौफिक खाँ लाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–११ बस्ने बैजनाथ गाउँपालिका–१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
गोदावरी नगरपालिका–८ डुकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा चोकस्थित सडकमा प्र.१–०२–००२ च ३८२६ नम्बरको पिकअप गाडी अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गाडीमा सवार मोरङ विराटनगर महानगरपालिका–६ सरस्वती टोल बस्ने २१ वर्षीय सोहन कामतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी सवार ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरस्थित सडकमा लु.३० प ३१४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने पप्पु साहानीकी छोरी ७ वर्षीया छेमा साहानीको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भैरहवा सिटी हस्पिटल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१ केउरनीस्थित सडकमा प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक गैंडाकोट नगरपालिका–१४ अमरापुरी बस्ने ३२ वर्षीय जिवन क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेस्थित सडकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा बा.९५ प ३०७ नम्बरको मोटरसाइकल चालक थाक्रे गाउँपालिका–६ महादेववेशी बस्ने ५९ वर्षीय सेख अलि र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको टिचिङ अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ६८ जना मध्ये ६३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने ५ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनामा बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ एबी ४६५४ नम्बरको डिब्बा कन्टेनर, ग.१ ख ८५५१ नम्बरको बस, ना.४ ख ७१५ नम्बरको ट्रक, बा.९५ प ३०७ नम्बर मोटरसाइकल जीजे ०३ एके ३२२१ नम्बरको बस र बा.१ प ९१७ नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
रोल्पाको रून्टिगढी गाउँपालिका–९ सखीस्थित सडकमा लु.३ त ७११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय मोहन बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङको दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित सडकमा रा.७ प ५६७८ नम्बरको मोटरसाइकल र ना.६ ख २६३५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सल्यान कालिमाटी गाउँपालिका–३ बस्ने २३ वर्षीय भिषन पुन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि भारततर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ तिवारीटोल हाइटस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ लाटीझोडा बस्ने ६० वर्षीय बिन्दे उँराव सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया