डिशहोमले नेपाली भ्वाइस एआई ‘खुशी’ सार्वजनिक, ग्राहक सेवामा नयाँ आयाम

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै विकसित दुईतर्फी भ्वाइस एआई सेवा ‘Dish Home-AI Khusi’ सार्वजनिक गरेको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहक सेवालाई अझ प्रभावकारी र आधुनिक बनाउने लक्ष्यसहित डिशहोमले यो सेवा सुरु गरेको हो।
यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकलाई होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा तथा इलेक्ट्रोनिक सामग्रीमा २५ प्रतिशतसम्म छुटको सुविधा दिँदै आएको थियो । साथै, नेपाल प्रिमियर लिग (NPL) २०२५ लाई आफ्नै OTT प्लेटफर्म DishHome GO मार्फत प्रत्यक्ष प्रसारण गरी डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ इतिहास रचेको थियो।
नयाँ ‘खुशी’ एआई प्रणाली नेपाली भाषामा मानव–जस्तै आवाजमार्फत ग्राहकसँग संवाद गर्न सक्षम रहेको कम्पनीले जनाएको छ। यसले सेवा निष्क्रिय भएका ग्राहकलाई पुनःनवीकरणको लागि सम्पर्क गर्ने, अफर जानकारी दिने, गुनासो तथा सुझाव संकलन गर्ने र ग्राहकको भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्दछ।
नेटवर्कमा प्राविधिक अवरोध आएमा एआई प्रणाली केन्द्रीय प्रणालीसँग एकीकृत भई सेवा अवरुद्ध हुनुको कारण, समाधानको अनुमानित समय र प्रगति विवरण ग्राहकलाई रियल–टाइममा उपलब्ध गराउनेछ। यसले ठूलो संख्यामा आउने कल व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भविष्यमा ‘खुशी’ लाई ग्राहक विवरण प्रमाणीकरण, डेटाबेस स्वचालित अद्यावधिक, जडान तथा मर्मत समय व्यवस्थापन लगायतका सेवामा विस्तार गरिने योजना छ। साथै, फेसबुक मेसेंजर, वेबच्याट, भविष्यमा व्हाट्सएप र भाइबरमार्फत पनि सेवा विस्तार गरिने डिशहोमले जनाएको छ।
डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान संस्थासँग सहकार्य गर्दै नेपाली भाषामा आधारित एआई प्रणालीको दीर्घकालीन विकासमा काम गरिरहेको बताएको छ। कम्पनीका अनुसार ‘खुशी’ ले नेपालमा एआई प्रविधिको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड स्थापना गर्नेछ।
‘खुशी’ को आगमनसँगै डिशहोमले ग्राहक सेवालाई थप छरितो, डिजिटल र मानवीय शैलीमा प्रवाह गर्ने दिशामा मजबुत कदम अघि बढाएको कम्पनीले जनाएको छ।








प्रतिक्रिया