बिहीबार, मंसिर २५, २०८२

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

नेपालखोज २०८२ मंसिर २५ गते ११:२८

हनोइ (भियतनाम) । थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे ।

आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उनले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्र्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाल र भियतनाम सरकारबीचको आर्थिक सहकार्यमार्फत क्षेत्रीय तथा अन्तरराष्ट्रिय स्तरमा व्यापार गर्न सकिने पनि उनको भनाइ थियो । उनले नेपालमा उत्पादनमुलक उद्योग, आइसिटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताए । नेपाल सरकार भियतनामी लगानीकर्ताका लागि स्वागत गर्न तयार रहेको उल्लेख गर्दै उनले दुवै देशबीचको व्यापार तथा लगानीका लागि नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे । दुई देशबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उनले अब दुई देशबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया