टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

नेपालखोज २०८२ मंसिर २६ गते ९:०३

भोजपुर । विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।

यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उनको भनाइ छ ।

धेरै विद्यालयहरु एकान्तमा रहेकाले विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको सिंहदेवी माध्यमिक विद्यालय लेखर्कका प्रधानाध्यापक राजधन राईले बताए । घेराबारा गरिएपछि विद्यालयसँगै विद्यार्थीहरुको सुरक्षामा सहजता भएको उनको भनाइ छ । विगतमा विद्यालय क्षेत्र खुला रहँदा भौतिक संरक्षण तोडफोड हुने, गाईबस्तु चराउनेलगायतको समस्या रहेकोमा अव त्यसको अन्त्य भएको उनको भनाइ छ ।

गाउँपालिकाले यहाँको शैक्षिक सुधारको लागि भौतिक संरचना निर्माणसँगै विद्यालय प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण निर्माणमा गाउँपालिकाले ध्यान दिएको उनको भनाइ छ ।

गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट विद्यालयको छनोट गरेर पुरस्कृत गर्दै आएको अध्यक्ष बस्नेतको भनाइ छ । विद्यालयलाई लक्षित गरेर वार्षिक रुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।

गाउँपालिकाले शैक्षिक अनुसन्धानको कामसमेत गरिरहेको छ । स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उनको भनाइ छ ।

प्रतिक्रिया