दुई देशबीच आर्थिक सहकार्यका लागि महासङ्घ र भियतनामको लगानी प्रवर्द्धन विभागबीच छलफल

हनोइ (भियतनाम) । नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन र अन्तरराष्ट्रिय सहकार्य विभागबीच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो ।
अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालार्ई नेपालमा स्वागत गर्न तयार रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ, म भियतनामी लगानीकर्तालाई नेपालमा आउन आग्रह गर्दछु, यसका लागि महासङ्घले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ ।’
अध्यक्ष ढकालले नेपालमा विशेषगरी चिया, कफी, हस्तकला, पर्यटन सेवा, केबलकार, जलविद्युत् र सूचना प्रविधि तथा व्यापारमा ठूलो अवसर रहेको उल्लेख गरे । उनले नेपालमा डाटा सेन्टरको क्षेत्रमा पनि अवसर भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे । नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै उनले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए ।
सोही अवसरमा अध्यक्ष ढकालले महासङ्घको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनाका लगानीकर्तालाई निम्तो पनि दिएका थिए ।
महासङ्घका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको बताए । उनले दुवै देशबीच लगानी र व्यापारका क्षेत्र ठूलो सम्भावना भए पनि त्यसको उपयोग नभएको उल्लेख गर्दै भियतनामी लगानीकर्ताका नेपाल आउन आग्रह गरे । ‘अमेरिकाजस्तो ठूलो उपभोक्ता बजारमा नेपालबाट सामान निर्यात गर्दा सहज छ, त्यसैले हामी भियतनामी लगानीकर्तालाई त्यसको उपयोग गर्नका लागि आग्रह गर्दछौँँ’, उनले भने ।

प्रतिक्रिया