बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

नेपालखोज २०८२ मंसिर २६ गते १८:५१

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिका-८ महादेवटारस्थित श्री जागेश्वर माध्यामिक विद्यालयको आज आयोजित स्वर्ण जयन्ती उद्घाटन कार्यक्रममा उनले विविध कारण यसअघि निर्माण रोकिएको आयोजनाको काम तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले गोरखा र धादिङको सिमानामा बन्ने उक्त आयोजनाले जलविद्युत् क्षेत्रको विकासमात्र नभई प्रभावित क्षेत्रका जनताको आयआर्जनमा सहयोग पुर्याउने भएकाले यसको निरन्तरता आवश्यक रहेको बताए । उनले सङ्घ सरकारलाई आयोजना शीघ्र सम्पन्न गर्न दबाब दिने उद्देश्यले गोरखा र धादिङमा पर्ने बुढीगण्डकी करिडोर क्षेत्रमा गण्डकी र बाग्मती प्रदेश सरकारको संयुक्त बैठकको तयारी भइरहेको जानकारी दिए ।

आयोजना निर्माणको अन्योलता हटाउन पटकपटक पहल गर्दै आएको बताउँदै उनले त्यसलाई मूर्तरुप दिन नसकिएको स्पष्ट पारे । मुख्यमन्त्री पाण्डेले सकारात्मक सोचले मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै देशमा केही पनि भएन भन्ने भाष्य सृजना गरेरमात्र देश नबन्ने उल्लेख गरे ।

प्रतिक्रिया