छिटो र छरितो सेवाका लागि नबिल बैंकको ‘अपोइन्टमेन्ट’ बैंकिङ सेवा

काठमाडौं । नबिल बैंकले डिजिटलाइजेसनको नयाँ आयामका रुपमा ‘अपोइन्टमेन्ट बैंकिङ सेवा’ सञ्चालन गर्दै आएको छ ।डिजिटल सेवालाई प्राथमिकतामा राख्दै अघि बढेको बैंकले अनलाइनबाटै ‘अपोइन्टमेन्ट बुक’ गरेर सेवा प्रदान गर्न बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको हो ।
व्यस्त पेसाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो छरितो सेवा पुर्याउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गरेको बैंकको भनाइ छ । यसबाट डिजिटल बैंकको प्रयोग गर्नेलाई प्रोत्साहन मिल्ने बैंकको विश्वास छ । यस पहलबाट बैंकिङ सेवा लिन ग्राहकले लाइन बस्नु नपर्ने र सेवा लिन लाग्ने समय घट्ने नबिल बैंकको विश्वास छ ।
अपोइन्टमेन्ट बैंकिङ सेवा नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत लिन सकिन्छ । वेबसाइट वा एनबैंक एपको ‘बुक एन अपोइन्टमेन्ट’मा क्लिक गरेर अपोइन्टमेन्ट कम्तीमा २ घण्टाअघि नै बुक गर्नुपर्नेछ । नगद तथा चेक कारोबार गर्ने ग्राहकले अपोइन्टमेन्ट सेवा उपयोग गर्न सक्नेछन् । ग्राहकले आफूलाई पायक पर्ने समयमा अपोइन्टमेन्ट लिएर सेवा उपयोग गर्न सक्छन् ।
मोबाइलमा अपोइन्टमेन्ट बुकिङ देखाएर लाइन नबसी ग्राहकले छिटो छरितो रुपमा बैंकिङ सेवा लिन सक्छन्। अपोइन्टमेन्ट लिएर सेवा लिन आउने ग्राहकका लागि डेडिकेटेड काउन्टरको सुविधा उपलब्ध गराइएको छ । यसबाट ग्राहकले तत्कालै बैंकिङ सेवा लिन सक्ने बैंकको विश्वास छ । यसबाट समयको बचत हुनुका साथै ग्राहकले स्तरीय सेवाको अनुभूति प्राप्त गर्ने बैंकले जनाएको छ । ‘नगद झिक्न र डिपोजिट गर्न तथा चेक डिपोजिट तथा क्लियरेन्स गर्न बैंकको शाखामा लामो लाइन बस्नुपर्ने अवस्था छ ।
व्यस्त पेसाकर्मी र व्यवसायीले आफ्नो काम छोडेर बैंक धाउनुपर्ने बाध्यता छ । अपोइन्टमेन्ट सेवाले ग्राहकलाई लाइन नबसी छिटो र छरितो रुपमा सेवा उपयोग गर्न पाउनेछन् । डिजिटल प्रविधिको उपयोग हुने भएकाले बैंकिङ सेवा पनि छिटो र छरितो हुनेछ’, बैंकको भनाइ छ ।
विगतमा यो सेवा बैंकले केन्द्रीय कार्यालयमार्फत उपलब्ध गराउँदै आएको थियो । हाल यसलाई विस्तार गरेर काठमाडौं उपत्यकाको कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वरस्थित बैंकका शाखा कार्यालयमा अपोइन्टमेन्ट बैंकिङ सेवा उपलब्ध छ ।
बैंकले अपोइन्टमेन्ट बैंकिङलाई पाइलट परियोजनाको रुपमा १३ वटा शाखामा सुरु गरेको छ । ग्राहकको सहभागिता र सफलताको आधारमा अन्य शाखामा पनि यस सेवा विस्तार गर्ने बैंक जनाएको छ । निकट भविष्यमा अपोइन्टमेन्ट बैंकिङ सेवाका लागि छुट्टै डेडिकेटेड काउन्टर पनि सञ्चालन गर्ने बैंकको योजना छ । साथै अन्य डिजिटल सर्भिस पनि थप गर्दै अघि बढ्ने बैंकले जानकारी दिएको छ ।
नबिल बैंक नेपालको अग्रणी बैंक हो । बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया